Shittalpati
माथागढी गाउँपालिकाद्वारा पत्रकार, शिक्षक र कर्मचारी सम्मानित

पाल्पा, माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको दशौ गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका क्रियाशिल पत्रकार, उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, सेवानिवृत्त शिक्षक, जग्गादा र कर्मचारीहरुलाई सम्मान गरेको हो ।

गाउँपालिकाले विगतमा जस्तै यस वर्ष वीपी कोइराला पत्रकारिता पुरस्कारबाट जिल्लाका ९ जना क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । सम्मानित हुने पत्रकारहरुमा इमेज टेलिभिजनका जिल्ला संवाददाता तथा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, सामुदायिक रेडियो मदन पोखराका प्रवन्धक राजेश कुमार अर्याल, बुटवल टुडेका उप–सम्पादक प्रकाश नेपाल, नागरिक दैनिकका पाल्पा संवाददाता मुक्तिप्रसाद न्यौपाने, श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचाभैया, सनराइज टेलिभिजनका प्रवन्धक सन्तोष बस्याल, भैरव खबर डटकमका सन्तोष गहतराज, रेडियो मदन पोखराका प्रतिनिधि माया बस्याल र रमेश राना रहेका छन् ।

यसैगरी गाउँपालिकाले सेवा निवृत्त २० जना शिक्षक, २३ जना जग्गादाता, ७ जना उत्कृष्ट कर्मचारी, ५ जना उत्कृष्ट प्रधानाध्यापक, १४ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवाली, गाउँपालिका प्रवक्ता मधु पराजुलीले संयुक्त रुपमा नगद, दोषल्ला सहित सम्मानपत्रले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले पालिकालाई संमृद्ध बनाउन, पालिकामा भईरहेका गतिविधी स्थानीय जनतादेखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पुर्‍याउन, पालिकामा काम गर्दा भएका कमीकमजोरीहरुलाई आलोचनात्मक समाचार तथा सुझावले पत्रकारहरुले खेलेको भुमिकालाई स्मरण गर्दै विपी कोइराला पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बताए । कर्मचारी अभावको समयमा पनि रात दिन नभनी काममा खटिएका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको अध्यक्ष थापाले बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखिराम रानाले गाउँपालिकाले पत्रकार शिक्षक, कर्मचारी र जग्गदाताहरुलाई सम्मान गरेर अभिभावकत्व ग्रहण गरेको बताए । सम्मानित व्यक्तित्व तथा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले गाउँपालिकाले पत्रकारहरुलाई सम्मान गरेर थप जिम्मेवार बनाएको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरु रामप्रसाद अर्याल, हरिराम जिसी, राजन अधिकारी, बालकृष्ण जिसी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update