Shittalpati
तानसेन नगर नगर सभा : विधेयक सहित समीक्षा, नीति तथा कार्यक्रमको उपलब्धि पारित

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन नगरपालिकाको दशौं नगरसभा भएको छ । नेपालको संबिधानमा ब्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभा भएको हो । सभाले एक विधेयक सहित चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक सीमक्षा, नीति तथा कार्यक्रमको उपलब्धी पारित गरेको हो ।

सभाध्यक्ष तथा नगर प्रमुख अशोक कुमार शाहीले सभामा पेश गरेको अर्धवार्षिक सीमक्षा,नीति तथा कार्यक्रमको उपलब्धी र उपप्रमुख लक्ष्मीदेवी पाठकले प्रस्तुत गरेको विनियोजन ऐन २०७८ (पहिलो संशोधन विधेयक) सर्वसमहतले पारित गरिएको छ । सभामा नगर प्रमुख शाहीले ४ सय ७१ आयोजनाहरु मध्ये ३ सय २४ आयोजना सम्झौता गरी ६४ आयोजना सम्पन्न गरिएको बताए । उनले युवा स्वारोजगार कार्यक्रम अन्तर्गत ६ सय ७२ जनालाई सेवा दिइएको, पाल्पाली ढाकाको प्रवद्र्धनका लागि राजधानी घोषणा गर्ने काम तिव्र गतिमा अगाडि बढेको, साना लगानीका स्थानीय सञ्चार गृह सवलीकरण कार्यक्रमलाई निरन्तरता दिइएको, तानसेनलाई दूध, मासुमा आत्मानिर्भर बनाउने उद्देश्यले बाख्राको स्रोत केन्द्र स्थापना गरी काम अगाडि बढेको, एक वडा एक किमी पक्की सडक अभियान अन्तर्गत अधिकासं वडाहरुमा ७ आयोजनाहरुको ठेक्का गरी सडक निर्माणको काम अगाडि बढेको हालसम्म २९ वटा ऐन तथा ४६ वटा नियम समेत गरी ७५ वटा कानुन पारित गरिएको जानकारी दिए । त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई पूर्ण बैंकिङ्ग प्रणालीमा लगिएको तानसेन नगरपालिकाको मोवाईल एप सञ्चालन समेत गरिएको नगर प्रमुख शाहीले बताए । उनले भने ‘सीमित साधन स्रोतका बाबजूद नगरवासीका इच्छा , चाहाना अनुसारका कार्यक्रम तथा योजना मार्फत सम्बोधन गर्ने प्रयास गर्दा गर्दै पनि हामी पूर्ण रुपमा पुरा गर्न सकेका छैनौं ।’

सभामा उप–प्रमुख लक्ष्मीदेवी पाठकले पहिलो सशोधन विधेयक विनियोजन ऐन २०७८ प्रस्तुत गर्दै नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम ऐन बनाइएको बताईन् । उनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक १४ करोड ११ लाख ८४ हजार ४५ बराबरको संशोधन बजेट पारित गरेकी छन् । सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेले प्रस्ताव पेश गरेका थिए । सोही अवसरमा नगर सभा सदस्यहरु प्रेम मल्ल, नारायण न्यौपाने, कमला भण्डारी, विष्णु कार्की, प्रशान्त मल्ल लगायतले भित्री सडक खण्डमा निश्चित मापदण्ड नहुँदा समस्या उत्पन्न भएको बताएका थिए । उनीहरुले घर निर्माणका लागि निश्चित मापदण्ड नहुँदा समस्या उत्पन्न भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update