Shittalpati
पाल्पामा सैनिक संग्रहालय

रामचन्द्र रायमाझी

पाल्पा, पाल्पामा सैनिक संग्रहालय स्थापना गरिएको छ । पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा नेपाली सेनाले सैनिक संहालय स्थापना गरेको हो । लुम्बिनी प्रदेश सरकार र नेपाली सेनाको वार्षिक विनियोजित रकमबाट उक्त संग्रहालय निर्माण गरिएको छ । गोरखदल गणको अगुवाईमा निर्माण भएको संग्रहालयको मंगलबार नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।

संग्रहालयमा नेपाली सेनबाट प्राप्त महत्वपूर्ण ऐतिहासिक दस्तावेज, हातहतियार, पोशाक तथा तस्वीरहरु राखिएको छ । उक्त संग्रहालयको उद्घाटनसँगै अवलोकन गर्दै प्रधानसेनापति शर्माले पाल्पामा नेपाली सेनाले नमूना काम गरेकोमा गणको प्रशंसा गरे । उनले नेपाली सेनाको इतिहास र परिचय बुझ्न संग्रहालय महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गरे । ऐतिहासिक पाल्पा दरबार संग्रहालयसँगै राखिएको सैनिक संग्रहालयमा सेनाको इतिहासका साथै वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत् १८७१ मा भएको लडाइँलाई स्मरण गराउने सामग्री राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इण्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको जितगढी, नुवाकोट गढी किल्लाका सम्झनामा सामग्रीहरु राखिएको पाइन्छ । यो संग्रहालय झण्डै १ करोड २५ लाख लागतमा निर्माण भएको जनाइएको छ । संग्रहालयभित्र तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत संग्रहित गरी राखिएको गोरखदल गण पाल्पाले जनाएको छ । यहाँ सेनाका ऐतिहासिक बहादुर पूर्वजहरु पृथ्वीनारायण शाह, वीर योद्धहरु कालु पाँडे, रामकृष्ण कुँवर, वंशराज पाण्डे, केहरसिंह बस्नेत, अभिमानसिंह बस्नेत र दामोदर पाण्डे लगायतको तस्बिर समेत राखिएको छ । सेनाका परमाधिपतिहरुको तस्बिर, कमाण्डर ईन चिफ र प्रधानसेनापतिहरुको पनि यहाँ तस्बिर सजाइएको छ ।

सैनिक संग्रहालय निर्माण गर्न तत्कालिन पृतनापति मध्य पश्चिम पृतना हे.क्वा.का उपरथी सीताराम खड्का, तत्कालिन बाहिनीपति २२ बाहीनी अड्डाका उपरथी आनन्द कुमार अधिकारी, तत्कालिन पृतनापति मध्य पश्चिम पृतना हे.क्वा.का उपरथी संजय थापा, तत्कालिन कमाण्ड सेनापति मध्य कमाण्ड हे.क्वा.का उपरथी विनय विक्रम राणा, कमाण्ड सेनापति मध्य कमाण्ड हे.क्वा.का उपरथी बाबुराम श्रेष्ठ, तत्कालिन बाहीनीपति २२ नं बाहीनी अड्डाका सहायक रथी सुदर्शन सिल्वाल, बाहिनीपति २२ नं बाहिनी अड्डाका सहायक रथी टिकाराम गुरुङको विशेष समन्वय र निर्देशनमा संग्रहालय निर्माण गरिएको हो । यस्तै संग्रहालय निर्माणका लागि तत्कालिन गणपति गोरखदल गणका प्रमुख सेनानी सुरज थापा, गोरखदल गणका प्रमुख सेनानी जनक कुमार बस्नेत, निर्माण समितिका अध्यक्ष भीमसेन कार्की, रणउजेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, गोरखदल गणका तत्कालिन समन्वय अधिकृत मनोज डंगोल,गोरखदल गणका समन्वय अधिकृत सेनानी विज्ञान पोखरेल, गणका मानार्थ उपसेनानी प्रेमबहादुर थापा मगर र पाल्पा दरबार संग्रहालयका लेखापाल चन्द्रबहादुर वलीको समेत विशेष पहल र समन्वय रहेको जनाइएको छ ।

यहाँ सानु राजा (जनरल प्रताप शमशेर राणा) को अर्धकतको शालिक पनि निर्माण गरिएको छ । विसं १९८३ मा सानु राजाले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको उक्त दरबार पुनर्निर्माण भएपछि उनको सम्झनामा शालिक निर्माण गरिएको हो । पाल्पा दरबार क्षतिग्रस्त हुनुभन्दा अगाडि जिल्ला मालपोत, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला अनुसन्धान, नेपाल स्काउट, ग्रामीण खानेपानी र प्रमुख जिल्ला अधिकारीको निवासका रूपमा प्रयोग हुँदै आएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update