Shittalpati
आनन्द सहकारीको साधारण सभा, समृद्धिको यात्रामा फड्को मार्दै

रामचन्द्र रायमाझी
पाल्पा,  जिल्लाको सदरमुकाम तानसेनमा २०६७ साल कार्तिकमा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई सार्थकता दिदै सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउदै लगेको हो ।

सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि आनन्दले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको हो । वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता, संस्थागत वृद्धि र निरन्तर समृद्धिको खाका तय गर्दै आनन्द सहकारीले शनिबार ११ औं वार्षिक सधारण सभा मनाएको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले २ लाख ५० हजार शेयर पुँजीबाट शुभारम्भ गरी आर्थिक वर्ष २०७७ /०७८ मा एक करोड ३३ लाख ९२ हजार रुपैंया शेयर पूँजी पुर्‍याउन सफल भएको छ । उसले आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड ९० लाख ३३ हजार ८ सय ३१ रुपैंया बचत संकलन गरेको कोषाध्यक्षको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यो गत वर्षको तुलनामा ३.३६ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी सहकारीले १४ करोड ४९ लाख २५ हजार ४ सय ८८ रुपैंया ऋण लगानी गरी १६ लाख ५८ हजार ८ सय ७४ रुपैंया खुद आम्दानी गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १७ करोड ६१ लाख १३ हजार १ सय २७ रुपैंयाको कूल कारोवार गरेको जनाएको छ । उसले आफ्नो वित्तिय कारोबारको मूल आधार शेयर सदस्य नै भएको र नीतिगत रुपमा पनि निरन्तर सदस्यहरु वृद्धि गर्नुपर्ने प्रावधान रहेकाले शेयर सदस्य बढाएर एक हजार ७ सय ८७ पु¥याएको छ । सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यले बताए । उनले भने ‘सहकारीको माध्यमबाट सदस्यहरु बिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’ कार्यक्रममा संस्थाका सल्लाहकार तथा प्रमुख अतिथि मिनबहादुर केशीले सहकारीले छोटो समयमै समृद्धिको दिशामा फड्को मार्न सफल भएको बताए । उनले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिवद्धता र पारदर्शी हुनुपर्नेमा जोड दिए । केसीले सहकारीहरु अब एक जुट भएर अगाडि बढ्ने बेला आएको धारणा व्यक्त गरे । लुम्बिनी प्रदेशका सांसद डा.पुरनमान बजा्रचार्यले सहकारीले समय र आवश्यकतालाई ध्यानमा राखेर लगानी गर्न सकेको खण्डामा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । उनले भने ‘पैसा उठाउने र ऋण दिने काममा मात्रै सिमित नरही सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्दछ ।’ संस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक सरोजलाल शाक्यले आर्थिक रुपमा शेयर सदस्य बलियो भए मात्र सहकारी बलियो हुने बताए । उनले सहकारीलाई बलियो बनाउन शेयर सदस्यहरुले सहकारीमै कारोबार गर्नुपर्नेमा जोड दिए । नवजनचेतना राष्ट्रिय दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे । उनले अधिकांश सहकारीहरुले अनुत्पादक क्षेत्रमा मात्र लगानी गर्दा संस्था नै बन्द हुन पुगेको बताउदै संस्थालाई दिगो र मजबुद बनाएर लैजानका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारण व्यक्त गरे । कार्यक्रममा सहकारीका सल्लाहकार चित्रवलीराम सूवाल, शेयर सदस्यहरु टिकाराम खराल, सूर्यबहादुर बोहोरा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरविन्द्र मान बज्राचार्यले आर्थिक वर्ष २०७८/०७९ का लागि २ करोड ३ लाख बराबरको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा ऋण उपसमितिका संयोजक सरोजलाल शाक्ले ऋण उपसमितिको प्रतिवेदन, लेखा समितिका संयोजक शोभामान बज्राचार्यले लेखा समितिको प्रतिवेदन र सचिव रत्नमान बज्राचार्यले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले असल कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान समेत गर्ने घोषणा गरेको छ । उसले असल बचत कर्ता हेम हमाल, लक्ष्मी बज्राचार्य, असल कारोबार कर्ता केशव प्रसाद विश्वकर्मा, मीना पाण्डे, सुनिलमान बज्राचार्य, शान्ती शाही, असल बाल बचत कर्ता रञ्जन भण्डारी, आस्था सिंजालीलाई आगामी अधिवेशनमा सम्मान गर्ने जनाएको छ । संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यको अध्यक्षता, सचिव रत्नमान बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update