Shittalpati
पाल्पामा निषेधाज्ञा हटाएर ‘आदेश’ जारी

रामचन्द्र रायमाझी

पाल्पा,  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अवस्थाका आधारमा ठाउँअनुसार फरक–फरक प्रकृतिको ‘स्मार्ट लकडाउन’ गर्न सकिने निर्णय लिएपछि पाल्पामा जारी निषेधाज्ञा हटाइएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालयले ‘निषेधाज्ञा’ शब्द नराखी कोरोना संक्रमण रोकथामका लागि बुधबार थप ‘आदेश’ भने जारी गरेको छ । जिल्ला प्रशासनले यो आदेश शुक्रबार राती १२ देखि लागू गर्ने निर्णय गरेको छ  । जिल्लामा भदौ २५ गते शुक्रबार राती १२ सम्म निषेधाज्ञा जारी छ ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैंठकले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार लैजाने निर्णय गरेको हो । सबै प्रकारका पेशा व्यवसाय नियमित सञ्चालन गर्ने गरी निषेधाज्ञा भने हटाइएको छ ।

जनस्वास्थ्यका मापदण्ड अपनाएर सम्पूर्ण व्यापार व्यवसाय, मठ मन्दिर तथा विभिन्न धार्मिक स्थलहरुमा गरिने पुजाआजा लगायत धार्मिक क्रियाकलापहरु सञ्चालन गर्न दिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । अनावश्यक रूपमा मानिस जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव, भोजभतेर गर्न लगाइएको रोक भने कायमै छ । ‘कोरोनाका सक्रिय संक्रमित घटेको र पेसा व्यवसाय पनि अप्ठ्यारोमा रहेकाले नागरिकलाई केही राहत पुगोस् भनेर जारी व्यवस्था खुकुलो बनाएका हौं,’ उनले भने, ‘सीसीएमसीले पनि स्मार्ट लकडाउन भनेकाले त्यहीअनुरूप अघि बढ्ने निर्णय भयो ।’

त्यस्तै डिसीएमसीको बैंठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । स्थानीय सरकारले अवस्था हेरेर विद्यालय सञ्चालनका लागि सिफारिस गर्न सक्ने छन् । विद्यालय पुनः सञ्चालन गर्दा डीसीएमसीको भने स्वीकृति लिनुपर्ने छ । शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ का आधारमा विद्यालय खोल्न सकिने जनाएको छ । कार्यढाँचामा विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ तर स्थानीय प्रशासनको अनुमति लिनुपर्छ । नरम र न्यून लकडाउनमा परीक्षासमेत सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ । यदि कुनै क्षेत्रमा कडा प्रकृतिको लकडाउन गर्ने अवस्था भए वैकल्पिक माध्यमबाट मात्रै पठनपाठन र परीक्षा सञ्चालन गर्न सकिने कार्ययोजनामा उल्लेख छ ।

यस्तै पाल्पामा यसअघि विहान ७ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएका उद्योग, पेशा व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्न दिइने भएको छ । मठ मन्दिर तथा विभिन्न धार्मिक स्थलहरुमा गरिने पुजाआजा लगायत धार्मिक क्रियाकलापहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना भने गर्नुपर्ने छ । अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, जुलुस गर्ने, जात्रा, महोत्सव तथा भोजभते गर्न भने रोक लगाइएको छ । कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने बताइएको छ । भदौ ११ गते सम्म कायम रहेको आदेशलाई कोभिड १९ व्यवस्थापन अध्यादेश २०८७ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम भदौ २५ गते राती १२ बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि निरन्तरता दिने प्रजिअ पाण्डेद्वारा जारी आदेशमा भनिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिले भदौ २५ गते रातीदेखि निषेधाज्ञा खुला गर्ने स्वीकृति दिए पनि स्थानीयवासीले आफ्नो स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्नेछ । आ–आफ्नो व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम राख्ने, मुखमा मास्क अनिवार्य लगाउनुपर्ने, साबुनपानीले हात धुनुपर्नेलगायतका काम अनिवार्य गर्नुपर्ने देखिएको छ । जिल्लामा निषेधाज्ञा खुला भए पनि संक्रमित कायमै रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ । जिल्ला प्रशासनले निषेधाज्ञा खुला हुने जानकारी दिए पनि जिल्लामा ४२ जना सक्रिय संक्रमित रहेका छन् । स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update