Shittalpati
गुल्मीका सडकमा एक अर्ब खर्च परिणाम न्यून

हुमाकान्त पोखरेल(रासस)
तम्घास, गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौर स्वास्थ्यचौकीसम्म करिब चार किलोमिटर सडक बनाउन इस्मा गाउँपालिकाले आव २०७५/७६ मा तीन लाख बजेट उपलब्ध गराएकोमा देउराली मुनिसम्म करिब एक किमी मात्र सडक खनियो । अर्को वर्ष सोही सडकका लागि पाँच लाख विनियोजन गरिएकोमा स्वास्थ्य चौकीबाट ताप्केचौरसम्ममात्र सडक खनियो तर देउरालीमुनिसम्म जोडिएन । बीचमा ढुङ्गाको पहिरो छिचोलेर बाटो खन्न धेरै रकम लाग्ने भएपछि २०७७/७८ मा यसका लागि बजेट विनियोजन गर्नुको साटो प्रदेशसँग बजेट माग गरिएको वडा नं १ का वडाध्यक्ष चुराबहादुर खत्रीले बताए ।

सडक खन्न ढिला भएकाले सरकारको लगानी बालुवामा पानी हाले सरह हुनुका साथै गुर्बासम्म गाडी पनि पुग्न पाएन । सडक निर्माणका क्रममा कारण राजकुमार नेपालीको घर जोखिममा परेको छ । इस्माकै झरना–हर्पुकोट मोटरबाटोको ट्रयाक खोलेको दशौँ वर्ष भइसक्दा समेत अझै त्यसको स्तरोन्नति गरिएको छैन । मुसिकोट नगरपालिका–४ को वडा कार्यालयबाट नगरपालिका जोड्ने नयाँ सडक आव २०७६/७७ बाट खन्न थालियो । दश किमी सडकका लागि १० लाख विनियोजन भयो । वडा नं ४ को हलोगाडेबाट खन्न सुरू गरिएको सडक क्वाटी नपुग्दै रोकियो ।

सडकले गर्दा १२ घर जोखिममा र तीन घर उच्च जोखिममा परेपछि सडक खन्ने काम बन्द गराइएको स्थानीयवासी विमल छन्त्यालले बताए । काम रोकिएकाले गत वर्ष नगरपालिकाले विनियोजन गरेको सात लाख पनि खर्च भएन । विसं २०५५/५६ मा रेसुङ्गा नगरपालिकाको गड्जुरा–बाँझपोखरी–पधेलीपोखरा हुँदै गाउँका धारा जोड्ने करिब चार किमी सडक खनिएकामा मर्मतका लागि गत आवमा ५० लाख विनियोजन भएको थियो । उक्त रकमले पर्खाल र नाली बनाउनेलगायत काम आधामात्र सम्पन्न भएको छ । स्थानीय बासिन्दा चक्र केसीका अनुसार सडकमा पानी बग्ने र नाला नहुँदा समस्या भएको छ । स्थानीय तहको चुनावपछि खनिएका र वर्षौँ पुराना सडक मर्मत नहुँदा समस्या भइरहेको छ । मालिका गाउँपालिका–७ घमिर सिलादीबाट भानुपोखरा हुँदै गाउँपालिका केन्द्र अर्खबाङ्ग पुग्ने सडकको ट्रयाक खोलेको २२ वर्ष भयो । सिलादीबाट भानुपोखरासम्म सडक केही फराकिलो बनाइए पनि भानुपोखराबाट अर्खबाङ्गसम्मको सडक साँघुरै छ । उक्त सडक वर्षायाममा हिलाम्मे हुँदा बिरामी अस्पताल लैजान समस्या भएको घमिरका मनोज कार्कीले बताए । जिल्लामा उपयोगविहीन नयाँ ट्रयाक धेरै छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि जनप्रतिनिधिले सडक बनाउने कामलाई प्राथमिकता दिए । आव २०७४/७५ देखि आव २०७७/७८ सम्ममा जिल्लाका १२ पालिकाले एक अर्ब १९ करोड एक लाख ५२ हजार ९ सय ४७ सडकका लागि खर्च गरेकामा, एक लाख ६३ हजार ५ सय ५३ दशमलव २४ किमी कच्ची सडक बनाउन र मर्मत गर्न तथा १४ किमी सडक पक्की गर्न प्रयोग भएको थियो । मदाने गाउँपालिकाले विगत चार आवमा ११ करोड ८४ लाख ८५ हजार रकम सडक निर्माणमै खर्च गरेको छ । कच्ची र मर्मत गरी ९६ हजार ५ सय ४५ किमी सडक खनिएकोे छ । पन्ध्र दशमलव पाँच किमी सडक ग्राभेल गरिएको सूचना अधिकारी ऋषि पोखरेलले बताए । रूरूक्षेत्र गाउँपालिकाले पनि चार वर्षमा सडकका लागि ३९ करोड १० लाख खर्च गरेकामा ४२ दशमलव ७८ किमी नयाँ सडक खनिएको र १४८ मिटर सडक कालोपोत्र गरिएको थियो । मुसिकोट नगरपालिकाले आव २०७४/७५ देखि २०७६/७७ सम्म सात करोड ३८ लाख चार हजारबाट ६५ हजार ६३ किमी मर्मत र दुई हजार ७ सय मिटर सडक ग्राभेल गरेको छ । गुल्मीदरबार गाउँपालिकाले विगत तीन वर्षमा चार करोड ८२ लाख ८५ हजार सडकमा खर्चेकामा ११ दशमलव १२ किमी नयाँ र १६ दशमलव ९८ किमी सडक मर्मत गरेको छ । रेसुङ्गा नगरपालिकाले विसं २०७४/७५ देखि चार वर्षमा १० करोड ६९ लाखबाट १२५ दशमलव ४४ किमी सडकको नयाँ ट्रयाक खोलिएको, ४८.९३ किमी ग्राभेल गरिएको र १३.८६ किमी कालोपोत्र गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । एक हजार ३७२ किमीे नाली बनाइएको र प्रत्येक वडालाई सडक सरसफाइका लागि ५० लाखका दरले बजेट विनियोजन गरिएको उनको भनाइ थियो ।सत्यवती गाउँपालिकाले विगत चार वर्षमा एक करोड ८७ लाख खर्चेकोमा छ दशमलव सात किमी नयाँ र एक दशमलव पाँच किमी सडक मर्मत गरिएको छ । मालिका गाउँपालिकाले चार वर्षमा १४ करोड ८३ लाख १० हजार ७ सय ९० बाट ९५ दशमलव पाँच किमी नयाँ, २ सय ५९ किमी मर्मत र तीन दशमलव ८ किमी सडक ग्राभेल गरेको छ । छत्रकोट गाउँपालिकाले दुई करोड ३० लाख ६० हजारबाट २१ दशमलव ३२ किमी नयाँ र १३ दशमलव ४८ सडक मर्मत गरेको छ ।

कालीगण्डकी गाउँपालिकाले १० करोड ६१ लाख ४८ हजारबाट ८३ दशमलव ५२ किमी नयाँ र २२ किमी सडक मर्मत गरिएको जनाएको छ । धुर्कोट गाउँपालिकाले आठ करोड २४ लाख ४५ हजार १ सय ५७ बाट ६१ किमी नयाँ सडक खनेकामा १ सय ३८ दशमलव पाँच किमी स्तरोन्नति गरेको एक दशमलव ८३ किमी ग्राभेल गरेको थियो ।
गाडी बिग्रने समस्या: यातायात व्यवसायी:
नयाँ खनेका सडकको अवस्था राम्रो नहुँदा गाडी चालक तथा यातायात व्यवसायीले समस्या भोग्दै आएका छन् । ‘वर्षायाममा धेरै खाल्डाखुल्डी पर्ने हुँदा गाडीमा थुप्रै समस्या देखापर्छ ।’ गुल्मी यातायात व्यवसायी संघका महासचिव हिमाल कुँवरले भने, ‘बाध्य भएर मात्र सवारी साधन चलाएका छौँ ।’ गुल्मी यातायात व्यवसायी संघका कार्यालय प्रमुख डोलबहादुर कुँवरले बिग्रेका सडकमा जबर्जस्ती गाडी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढेको बताए ।
वातावरणमा नकारात्मक असर:
जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जथाभावी सडक खन्दा वातावरणीय सन्तुलन बिग्रन सक्ने बताए । उपभोक्ता र डोजर चालकले बाटोको नक्सा बनाउने हुँदा समस्या थपिएको उनले बताए । जिल्लामा खनिएका धेरै सडक मापदण्डअनुसारका छैनन् । कतिपय ठाउँमा सडकको ट्रयाक नै फेरिएको छ । थोरैथोरै बजेट धेरै ठाउँमा लगानी गर्न खोज्दा सडकको गुणस्तर बिग्रिएको रेसुङ्गा नगरपालिकाका सबइञ्जीनियर चक्र केसीले बताए । ‘धेरै सडकका घुम्ती र ग्रेड मिलेका छैनन्’, उनले भने,‘भिरालो भू–बनोट र कम बजेटले पनि समस्या पारेको हो ।’
बजेट र चेतनास्तर कमी:
रूरूक्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थले वर्षायाममा पहिरो जाने समस्याले गर्दा ग्रामीण भेगका सडक बाह्रै महिना सञ्चालनमा कठिनाइ भएको बताए । मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले कतिपय उपभोक्ता र उपभोक्ता समितिले ठेकेदारले जस्तै गरी योजनाको दायित्व नलिँदा र नागरिकमा चेतनास्तर कम हुँदा सडक सञ्चालनमा समस्या भएको बताए । –रासस

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update