Shittalpati
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान

पाल्पा, १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका तानसेन ९ दमकडाका जेष्ठ नागरिकलाई शनिबार सम्मान गरिएको हो ।

अधेरी छरछरे सामुदायिक वन दमकडा र नेपाल पंक्षी संरक्षण संघले संयुक्त रुपमा ८४ वर्ष पुगेका १० जना जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । लोपउन्मुख अवस्थामा रहेका गिद्धहरुको सरंक्षणमा जोड दिदै विगतमा गिद्ध संरक्षणमा जेष्ठ नागरिकको पनि महत्वपूर्ण योगदान रहेकाले उनीहरुको सम्मान गरिएको अधेरी छरछरे सामुदायिक वनले जनाएको छ ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बन तथा पंक्षीको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले समाजका पथप्रदर्शकका रुपमा रहेका जेष्ठ व्यक्तिहरुको सम्मान गरेर अनुकरणी कार्य गरेको बताए । जेष्ठ नागरिकको सम्मानले अन्य क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । नगर प्रमुख शाहीले जेष्ठ नागरिक समाजको पथप्रदर्शक र मार्गदर्शक भएको बताउँदै उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताए ।

कार्यक्रममा वडा अध्यक्ष हरी समर रेग्मीले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उनले एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्ने बताए । उनले आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्नेमा जोड दिए । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत उपेन्द्र अर्यालले प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणको सँग सँगै समाजमा योगदान पु¥याएका व्यक्तिहरुलाई समेत सम्मान गर्ने गरिएको बताए । उनले पछिल्लो समय उचित संरक्षण र बासस्थानको अभावमा गिद्ध लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षणमा सबैले पक्षले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सामाजिक व्यक्तित्व पुरुषोत्तम अर्यालले जेष्ठ नागरिक सम्मान कार्यक्रमले समाजका अग्रज व्यक्तिहरुको सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताए । नेपाल रेडक्रस माण्डव्य उपशाखा दमकडाका सभापति मीनप्रसाद बञ्जाडेले नेपाली समाजमा अझै पनि जेष्ठ नागरिकलाई हेर्ने देष्टिकोणमा परिवर्तन आउन नसकेको बेला सम्मान कार्यक्रमले सकारात्मक सन्देश दिने धारणा व्यक्त गरे । हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ । सोही अवसर पारेर प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणको विषयमा चर्चासँगै जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको अधेरी छरछरे सामुदायिक वनका अध्यक्ष हरिसचन्द्र भूषालले बताए । कार्यक्रम वनका अध्यक्ष भूषालको अध्यक्षता, उपाध्यक्ष दिनेश बस्यालको स्वागत, सचिव लक्ष्मी खरालको सञ्चालनमा कार्यक्रम भएको थियो । तस्वीर सौजन्य प्रकाश नेपाल

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update