Shittalpati
पाल्पामा सदरमुकामवासी नै पिउँछन् दूषित पानी !

रामचन्द्र रायमाझी

पाल्पा, अन्य क्षेत्र भन्दा सदरमुकाम हरेक कुराले सुगम नै मानिन्छ । तर त्यहीँ सुमग क्षेत्रका जनताहरुले नै दूषित पानी पिउँछन् भन्दा अचम्म लाग्न सक्छ । पाल्पाको सदरमुकाम तानसेनका जनताहरु विगत दुई महिनादेखि दूषित पानी पिउँन बाध्य छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामवासीहरु कालीगण्डकीको पानी आएपछि उत्साहित बने पनि दूषित पानी आउन थालेपछि भने चिन्तित बनेका छन् । यहाँ दैनिक रूपमा आपूर्ति हुँदै आइरहेको खानेपानीमा हिलो, धमिलो सहितको पानी आउन थालेपछि तानसेनवासी चिन्तित बनेका हुन् ।

नगरवासीले तानसेन खानेपानी उपभोक्ता समितिले वितरण गर्ने खानेपानी पिउन योग्य नभएको भन्दै गुनासो गर्दै आइरहेका छन् । उनीहरुले उपभोक्ता समितिको चरम लापरवाहीका कारण दुई महिना यता धारामा हिलो, धमिलो सहितको पानी वितरण भइरहेको बताएका छन् ।

तानसेन भगवती टोलमा बस्दै आएकी शर्मिला थापाले धारामा धमिलो पानी आउन थालेपछि सबैले पानी छानेर उमालेर पिउने गरेको बताइन । उनले भनिन्, ‘फोहोर पानीका कारण रोग लाग्ने डरले दिनहुँ पानी उमालेर पिउने गरेका छौं ।’ यस्तै तानसेन मखनटोलमा कोठा भाडामा बस्दै आएकी गीता सारुले पनि धारामा फोहोर पानी आउन थालेपछि खानेपानीको समस्या भएको बताइन् । उनले समितिको लापरवाहीले धारामा फोहोर पानी आएको आरोप लगाइन् । समस्याबारे जानकार रहँदा रहँदै पनि खानेपानीप्रति उपभोक्ता समितिले बेवास्ता गरेको तानसेनवासीले आरोप लगाएका छन् । उपभोक्ता समितिले तानसेनको खानेपानी समस्या समाधान गर्न कालीगण्डकी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको छ । समितिले गत जेठ ९ गतेदेखि कालीगण्डकीको पानी तानसेनका टोल–टोलमा वितरण गरे पनि फोहोर सहितको पानी आएपछि उपभोक्ताहरु हैरानी भएका छन् ।

तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष तथा प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले भने खानेपानी धमिलो र लेदो आएको स्वीकारे पनि पानी परीक्षण गरिएकाले खानायोग्य भने रहेको बताए । बर्खाको समय भएकाले पानीको मुहानबाटै फोहोर पानी आएको उनले बताए । कालीगण्डकीको पानी मुहानमा पस्न गएकाले पानी धमिलो, लेदो आउने गरेको डा. बज्राचार्यको भनाई छ । यस विषयमा उपभोक्ता समितिले लापरवाही गरेको भने भन्न नमिल्ने उनले बताए । डा. बज्राचार्यका अनुसार भुल्के र सिस्नेको पानी पनि लिफ्टिङ कालीगण्डकीकै पानीमा मिसाइएको छ । यहाँ भुल्केको पानीमा पनि सडक निर्माण गर्दा पाइपमा फोहोर पसेकाले धमिलो आउने गरेको छ । पटक–पटक ट्याङकी सफा गर्दै आए पनि मुहानबाटै पानी फोहोर आएका कारण समस्या उत्पन्न भएको समितिका कार्यवाहक अध्यक्ष बज्राचार्यले बताए । उनले भने ‘हामी तानसेनवासीलाई स्वच्छ पानी उपलब्ध गराउने कार्यमा गम्भीर बनेका छौं , छिट्टै कालीगण्डकी मुहानमा मर्मतको काम गरिने छ, त्यो समयसम्म कालीगण्डकीको पानी वितरण बन्द गरी भुल्के र सिस्नेको पानी वितरण गरिने छ ।’ यि दुई स्थानको पानी वितरण गरे पनि तानसेन उपभोक्तालाई भने पुग्ने देखिदैन । यसको तत्काल दीर्घकालीन समाधान खोजिनुपर्ने तानसेनवासीको माग छ । महिनौंसम्म धारामा पानी नआउने, कहिले अनियमित वितरण, कहिले फोहोर र धमिलो पानी यस्तै समस्या सदरमुकामवासीले विगतदेखि नै भोग्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update