Shittalpati
विपद्‍मा जनताको साथी बन्यो पाल्पाको माथागढी गाउँ सरकार

रामचन्द्र रायमाझी
पाल्पा(माथागढी),कोरोना महामारीमा होस् वा अन्य प्राकृतिक विपत्तिमा नै किन नहोस् पाल्पाको माथागढी गाउँ सरकार जनताको साथी बनेको छ । कोरोना महामारीको प्रकोपबाट लडिरहेका, दीर्घरोगबाट ग्रसित हुन वा बाढी,पहिरोका कारण घरबारविहीन बनेका र भौतिक तथा मानविय क्षति पुगेका जनताको दुःखमा मलम लगाउने कार्यमा गाउँ सरकार सारथी बनेको हो । नजिकको सरकार भनेकै स्थानीय सरकार हो त्यसैले पनि अहिले माथागढी गाउँ सरकार विपद्मा जनताको साथी बनेको छ ।

यहाँका जनताको हरेक समस्यामा गाउँ सरकार मलमपट्टी लगाउने काममा अग्रस भएको छ । गाउँपालिकाको विकास निर्माणका कार्यदेखि जनतालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने काममा गाउँपालिका सुरुका दिनदेखि नै लागी परेको हो । विगत दुई वर्षदेखि विश्वभर फैलिएको कोरोना महामारीबाट प्रभावित बनेका जनताको सुरक्षा र बाढी, पहिरोमा परेकाहरुको उद्दार, राहत दिने काममा गाउँपालिकाले कञ्जुस्याई गरेको छैन । गाउँपालिकाको सिमित आन्तरिक स्रोतमार्फत विपद्मा परेका जनताको उद्दारमा काम गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘हाल आमजनतालाई सन्त्रासमा पारेको कोरोना महामारी र प्राकृतिक विपत्तिमा सिमित स्रोत र साधनका बिच जनताको जीवन रक्षामा हामी लागिपरेका छौं ।’ स्थानीय सरकार जनताको अभिभावक भएकाले पनि विपद्का बेला अलि बढी जिम्मेवार बन्नु परेको अध्यक्ष थापाले बताए । ‘जब विपद् आउँछ, जनताहरू कि त छिमेकी कि त स्थानीय सरकारको आश गर्छन् । अन्य कुरा यथावत रहेको अवस्थामा सरकारले जनतालाई व्यक्तिगत रूपमा सहयोग गरिरहनु पर्दैन, अर्थात् सरकारले उनीहरुका लागि विधिको शासन अवलम्बन गर्नुपर्छ । नागरिकलाई सहज हुनेखालका नीतिहरू निर्माण गर्नुपर्छ, साथसाथै जब जनतालाई विपद् पर्छ, त्यस अवस्थामा सरकारले व्यक्तिगत रूपमै जनतासमक्ष आर्थिक तथा अन्य सहयोग गर्न जरुरी हुन्छ । यही कुरालाई हामीले मनन् गरी विपद्मा परेका जनताको साथी बनेर काम गरेका छौं’उनले भने । ‘हामी विकाससँगसँगै जनताको दुखमा पनि हातेमालो गर्दै आएका छौं ।’

गाउँपालिकाले विपत्को सामाना गर्न छुट्टै विपत् व्यवस्थापन कोष बनाई कोरोना महामारीबाट र बाढी पहिरोबाट प्रभावित विपन्न,असहाय जनताका लागिका आर्थिक सहायता दिर्दै आएको छ । उसले चालु आर्थिक वर्षमा वातावरण तथा विपद् व्यवस्थापनका लागि ३२ लाख रकम समेत छुट्याएर काम गरेको छ । गाउँपालिकाले बैशाखदेखि यता विपद्मा परेकाहरुको उद्दारका लागि १७ लाख ३२ हजार रकम खर्चेको छ । उसले कोरोना संक्रमण, पहिरो, आगालागी, खोलाले बगाएर ज्यान गुमाएका, घरबारविहीन, बाढी,पहिरोबाट भौतिक क्षति पुगेका विपन्न र असहाय गरी ९६ घर परिवारका लागि उक्त रकम खर्चेको हो । गाउँपालिका अध्यक्ष थापाका अनुसार कोरोना संक्रमण र पहिरोका कारण ज्यान गुमाएका परिवारको लागि प्रति परिवार ३५ हजार उपलब्ध गराइएको छ । मृतकका परिवारलाई काजकिरियामा केही राहत पुग्ने उद्देश्यले प्रति परिवार ३५ हजार दिइँदै आइएको उनले बताए । गाउँपालिकाले बाढी,पहिरो र आगलागीबाट प्रभावित परिवारका लागि पनि राहत दिर्दै आएको छ । वडा –वडामै पुगेर गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गर्दैै आएको हो ।

गाउँपालिकाले केही दिन अघि चिदीपानी, रुप्से र कसेनीमा कोभिड १९ बाट मृत्युु भएका र प्राकृतिक विपद्बाट मानविय , भौतिक क्षति भोग्नु परेका परिवारलाई राहत स्वरुप ८ लाख ५७ हजार उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष थापाले पिडीत परिवारलाई उक्त राहत रकम उपलब्ध गराएका हुन् । महामारीकै कारण मृत्यु भएका र प्राकृतिक विपत्तिमा परेका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन राहतस्वरुप रकम उपलब्ध गराइएको अध्यक्ष थापाले एनजेडीसँगको कुराकानीमा बताए । ‘अधिकांश मृतकका परिवार पनि संक्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकातिर परिवार नै संक्रमित, अर्कोतर्फ सदस्य गुमाउनुको पिडा छ’ उनले भने,‘यस्तो बेला स्थानीय सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनेर लागि परेका हौं ।’ गाउँपालिका भित्र अझै पनि विपद्मा परेका जनताहरु रहेकाले उनीहरुको पहिचान गरी आर्थिक सहयोग गरिने अध्यक्ष थापाको भनाई छ ।

पालिकाले संक्रमणका कारण मृत्यु भएका, मृत्युपछि संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिने गरेको छ । उसले अन्य कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घर–घरमा पुगेर स्वास्थ्य सामग्री र आवश्यक औषधि समेत वितरण गर्दै आएको छ । गाउँपालिकावासीहरु कोरोना संक्रमण भई स्वास्थ्य उपकरणका अभावमा समस्यामा नपरुन भन्ने उद्देश्यले गाउँसरकार कोरोना संक्रमितहरुको घरमै पुगी चेक जाँचसँगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको हो ।

तस्वीर :पहिरो पिडीत परिवारलाई राहत रकम प्रदान गर्दै माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update