Shittalpati
पहिराको जोखिममा बस्ती, स्थानीय त्रसित

स्याङ्जा, गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका कारण जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो । पहिरो गएको डाँडाको माथि समथर भूूभाग र उब्जाउपूर्ण जमीनका साथै आँधीखोलाको पानीले सिँचाइको समेत सुविधा भएकाले स्थानीय बासिन्दाले मौसमअनुसारको खेती लगाएर हराभरा बनाएका छन् । यहाँको जमीन धसिदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् । स्थानीय युुवा छविलाल भट्टराईले पहिरालाई बेलैमा नियन्त्रण गर्न नसके जोखिमपूर्ण अवस्था आउन सक्ने बताए ।

विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन भएता पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् । बस्तीको दुुवैतिरबाट खोलाले घेरेको र सो क्षेत्रको भूवनोट कमजोर रहेकाले बस्तीभन्दा धेरै तलबाट वरिपरिको पूरै जमीन धस्केको र ठाउँ–ठाउँमा पहिरो निरन्तर गएकाले बस्ती थप जोखिममा परेको हो । पहिराका कारण बस्तीको वरिपरि रहेका खेतहरुमा समेत ठूला–ठूूला धाँजा फाटेको स्थानीय नेत्रप्रसाद अर्यालले बताए । सो क्षेत्रको जमिन अत्यन्त कमजोर माटाले बनेको र यस क्षेत्रमा चलायमान माटो रहेकाले वस्तीका साथै आँधीखोला जलविद्युुत् गृहमा समेत असर पर्ने देखिन्छ । –रासस

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update