Shittalpati
माथागढीले सबै वडामा खोप केन्द्र सञ्चालन गर्दै

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले सबै वडामा कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै वडालाई पत्राचार गर्दै खोप केन्द्रका लागि समन्वय गर्न भनेको छ । २५ जेठबाट कोभिड १९ विरुद्धको भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहकालाई दिइदैछ । पालिकाले आगामी मंगलबारबाट ६२ देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड—१९ विरुद्धको खोप पत्येक वडाबाट सञ्चालन गर्ने जनाएको छ ।

यही जेठ २५ र २६ गते कोरोना विरुद्धको खोप सबै वडाहरुमा एकसाथ सञ्चालन हुने छ । यस अघि केही वडाहरुमा मात्र खोपकेन्द्र सञ्चालन गर्ने भनिए पनि नागरिकहरुको भावनालाई आत्मसाथ गर्दै ८ वटै वडाहरुमा खोपकेन्द्र सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । अध्यक्ष थापाका अनुसार स्वास्थ्य कार्यालयको व्यवस्थापनमा केही वडाहरुमा मात्र खोप केन्द्र सञ्चालन गर्ने भनिए पनि नागरिकहरुको सहजताका लागि सबै वडाहरुमा खोपकेन्द्र सञ्चालन गर्ने भएको हो । ‘हामीले हाम्रा नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै सबै वडाहरुमा खोप केन्द्र चलाउँछौं आवश्यक व्यवस्थापन गछौं, खोपबाट कसैलाई छुटाउदैनौं आउन नसक्नेहरुलाई गाडी पठाएर भएपनि खोप लगाउछौं’ अध्यक्ष थापाले भने । केन्द्र सरकारले व्यवस्थापन गरेको कोरोना विरुद्धको खोप यहि जेठ २५ र २६ गते ६२ देखी ६४ वर्ष उमेर समूहकालाई लगाइदैछ । उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चिनियाँ खोप)को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंतिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update