Shittalpati
खोप किन्न अनुमति माग्दै माथागढी सरकार

पाल्पा(माथागढी), सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि जिल्लाको माथागढी गाउँ सरकारले खोप खरिद गर्ने योजना अगाडि बढाएको छ । गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफ्ना नागरिकहरुलाई तत्काल खोप उपलब्ध गराउन भनेको छ । यति खोप उपलब्ध गराउन नसके खोप खरिदका लागि अनुमति दिन गाउँपालिकाले मन्त्रालयसँग माग गरेको छ ।

उसले मन्त्रालयमा पत्राचार गर्दै आफ्ना २० हजार ८ सय ५२ नागरिकलाई खोप उपलब्ध गराउन वा उपलब्ध गराउँन नसके खरिदका लागि अनुमति मागेको हो । गाउँपालिकाले खोप खरिदमा भएको ढिलाईका कारण ठूलो मानवीय क्षति भएको बताउँदै विकास बजेट नै रोकेर खोप किन्न तयार रहेको बताएको छ । खोप खरिदका लागि केन्द्र सरकारले अनुमति दिए गाउँपालिकाकै बजेटबाट तुरुन्तै खोप खरिद गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने, ‘हामीले खोप किन्ने अनुमति पायौँ भने हाम्रो आन्तरिक स्रोतबाटै खोप किन्ने योजना बनाएका छौं ।’ अध्यक्ष थापाले खरिद प्रक्रियाको विधि र प्रक्रिया पु¥याएर खोप किन्ने र त्यसका लागि आर्थिक स्रोत ब्यवस्थापन गर्न तयार रहेको बताए । उनले अहिले सरकारले जारी गरेको कोभिड रोकथाम अध्यादेशमा पनि संघीय, प्रदेश तथा स्थानीय तहले पनि खोप खरिद गर्न सक्ने व्यवस्था गरेकाले केन्द्र सरकारले खोप उपलब्ध नगराए आफैंले खोप खरिद गर्ने गरी अगाडि बढेको बताए । उनले भारतमा रहेका साथीहरुसँग खोप खरिदका लागि कुराकानी भइरहेको जानकारी दिए । अध्यक्ष थापाले समयमै जनतालाई खोप दिन सकेको भए यति धेरै मानवीय क्षति नहुने बताउँदै विकास भन्दा खोपलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे । खोप वितरणमा सरकारले ढिलाई गरेपछि पाल्पाका रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले पनि सरकारसँग खोप खरिदका लागि अनुमति मागेका छन् । उनीहरुले आफ्नै बजेटमार्फत खोप खरिद गर्ने भन्दै सरकारसँग अनुमति दिन माग गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update