Shittalpati
संक्रमितको घर घरमै पुगेर औषधि वितरण

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, उपाध्यक्ष निर्मला भट्टराई, प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, वडा सदस्यहरू, स्वाथ्यकर्मी र कर्मचारीले संक्रमितको घर–घरमा पुगेर आवश्यक औषधी र स्वास्थ्य सामग्री वितरण गरेका हुन् । औषधि, स्वास्थ्य सामग्री दिनुकोसाथै आवश्यक परामर्श, स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन पनि गर्ने गरिएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘जनप्रतिनिधि स्वास्थ्यकर्मीको टोली लिएर संक्रमितको अवस्था बुझ्ने तथा औषधिलगायत स्वास्थ्य सामग्री वितरणमा जुटेका छौं’, अध्यक्ष थापाले भने । संक्रमितको घरमै पुग्ने स्वास्थ्य टोलीले बिरामीको अक्सिजन लेभल नियमित चेकजाँच गर्ने गर्छन् । अक्सिजनको मात्रा कमी भएकालाई आफैंले सञ्चालन गरेको कोभिड अस्पतालमा ल्याएर उपचार गराउँन गरिएको अध्यक्ष थापाले बताए । वडा वडामा निःशुल्क पिसिआर परीक्षण गर्नुको साथै संक्रमतिको घरमै पुगेर आवश्यक औषधि र परामर्श दिईने गरिएको कसेनी स्वास्थ्य चौकीका प्रमुख गोविन्द प्रसाद भट्टराईले बताए । गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवासहितको १५ बेडको कोभिड अस्पतालसमेत सञ्चालन गरेर संक्रमितको उपचार गरिरहेको छ ।
पालिकाले पारासिटामोल, जिंक चक्की, एजिथ्रोमाइसीन, भिटामिन बी र सी, जीवनजल, साबुन, कोलगेट, ब्रससहितको कोरोना किटको व्यवस्थापन गरेको छ । गाउँपालिकाले संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई बढाएको हो । उसले कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको पीसीआर परीक्षणलाई व्यापक बनाएको छ । स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्यचौकी वा आवश्यकता अनुसार टोल–टोलमै पुगेर स्वाव संकलन गर्ने गरेका छन् । गाउँपालिकामा आइतबारसम्मको तथ्याड्ढ अनुसार १ सय २१ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरु मध्ये केही कोभिड अस्पतालमा र केही होम आइसोलेसनमा रहेको जनाइएको छ । अहिलेसम्म गाउँपालिकामा ४ सय ४ जना नागरिकहरु संक्रमित भइसकेका छन् । जस मध्ये २ सय ७३ जना निको भएका छन् । संक्रमित मध्ये १० जनाको मृत्यु भइसकेको छ । गाउँपालिकामा कोरोनाको जोखिम बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह समेत गरेको छ । गाउँपालिकाले भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न आग्रह गर्दै आएको छ  ।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update