Shittalpati
गुल्मीमा वृहत लिफ्टिङ्ग खानेपानीको सफल परीक्षण

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा सञ्चालन हुन लागेको बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा पर्ने भुवनपानी कुटी बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल पन्थीले जानकारी दिए ।

विद्युतको साहयताले बस्तीदेखि तल सिस्नेहार भन्ने स्थानमा रहेको मुहानबाट कुटी भन्ने स्थानमा रहेको ट्याड्ढीसम्म पानी ल्याईएको छ । उक्त वृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको सफल परीक्षण गरिएको छ । खानेपानीको सफल परीक्षण भएपछि स्थानीयमा निकै खुसीयाली छाएको छ । उक्त खानेपानी आयोजना केही दिन भित्रै सञ्चालन ल्याउने अध्यक्ष पन्थीले बताए । खानेपानीको तीन ठाउँमा ट्याड्ढी निमार्ण गरिएको उपभोक्ता समितिका सचिव माधवराज पन्थीले जानकारी दिए । उनका अनुसार एउटा ट्याड्ढी सिस्नेहार मुहान नजिकै निर्माण गरिएको छ । त्यस्तै एउटा पातल भन्ने स्थान र अर्को कुटी भन्ने स्थानमा ट्याड्ढी निर्माण गरिएको सचिव पन्थीले बताए । रेसुङ्गा नगरपालिका भित्र रहेका ५, ६ र ७ वडाका जनताले लिफ्टिङ्ग खानेपानीको उपभोग गर्ने समितिका सह–सचिव उमाकान्त पन्थीले बताए ।

त्यस्तै सोही नगरपालिकाकै ४ का केही जनताहरुले पनि उक्त पानीको उपभोग गर्न पाउनेछन् । झण्डै १२ सय घरधुरी आयोजनाबाट लाभाम्वित हुने बताईएको छ । नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य डा. चन्द्र भण्डारीको पहलमा यो आयोजना ल्याईएको हो । जिल्लामै यति ठूलो आयोजना ल्याउँदा त्यहाँका स्थानीयहरु निकै नै खुसी देखिएका थिए । झण्डै ६ करोडको लगानीमा उक्त आयोजनाको निर्माण भएको अध्यक्ष पन्थीले बताए । २०७२ सालमा संविधान सभा सदस्य डा. चन्द्र भण्डारीले यो आयोजनाको शिलान्यास गरेका थिए । यो आयोजना (भुवनपानी कुटी वृहत लिफ्टिङ्ग खानेपानी आयोजना) ल्याउनका लागि निकै नै संघर्ष गर्नु परेको नेपाली काँग्रेसका सचिव खिलध्वज पन्थीले बताए । यहाँका जनताहरुले पहिले जसरी निकै नै टाढा घण्टौ हिडेर पानी बोकेर ल्याउन पथ्र्यो अब त्यसको अन्त्य भएको उनले बताए । यहाँ पहिले खानेपानीको निकै नै अभाव थियो नेता पन्थीले भने, ‘म सानो छँदा यहाँ पानीको निकै समस्या थियो । पछिल्लो समय पानीको समस्या छैन । अब यहाँका जनतालाई पहिले जस्तो पानीको समस्या हुँदैन ।’ यो आयोजनाको प्राविधिक काम सकिएपछि केही दिन मै जनताका घर–घरमा यो लिफ्टिङ्ग खानेपानी पुग्ने नेता पन्थीले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update