Shittalpati
पाल्पामा पनि दारी ग्याङ गठन

पाल्पा, पछिल्ला दिनहरुमा दारीका सोखिन तन्नेरीहरुको संख्या सहर बजारमा बाक्लै देखिन थालेको छ । तर यिनीहरुले ऋषि मुनि जस्तै देखिन दारी पालेका भने होइनन् । धेरैलाई भ्रम छ, गृहस्थ त्यागेका वा काम न काजकाहरु दारी पाल्छन्, यही आम मानिसको सोचलाई चिर्नका लागि नेपालमा दारी ग्याङ गठन गरिएको छ । सामाजिक सञ्जालमा सक्रिय युवाहरुको समूहले पाल्पामा पनि दारी ग्याङ गठन गरेका छन् ।

सामाजिक अभियन्ता तथा तानसेन १ वडा सदस्य शिव थापाको अध्यक्षतामा तानसेनमा भएको भेलाले रवि बस्नेत संयोजक र जनक नेपाल सह संयोजक रहेको २५ सदस्यी दारी ग्याङ पाल्पा गठन गरेको छ । साथै सल्लाहकारमा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, सामाजिक अभियन्ता शिव थापा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष भोजराज भट्टराई, प्रविधि व्यवसायी राम भट्टराई रहेका छन् । रगत अभाव भएका बिरामीलाई रक्तदान, नगर सरसफाई, विपन्न समुदायमा न्यानो कपडा तथा खाद्यान्न वितरण लगायतका सामाजिक कार्य दारी ग्याङले गर्दै आएको दारी ग्याङका केन्द्रीय अध्यक्ष प्रदिप गैरेले बताए । उनका अनुसार दारी ग्याङको सदस्य बन्न दारी नै पालेको हुनुपर्ने बाध्यात्मक अवस्था नरहेको स्पष्ट पार्दै दारी प्रेमीहरू जो कोही सदस्य हुन सक्ने छन् । ‘दारी एकता, भाइचारा र समानन्तर भातृत्वको अभ्यास हो’ गैरेले भने, ‘नाफारहित दारी ग्याङ आधिकारिक रूपमा दर्ता भइ सामाजिक कार्यक्रम सक्रिय छ ।’ वि.सं. २०७२ फागुन ६ गते गु्रप च्याटबाट शुरु भएको ग्याङको सामाजिक सञ्जालमा १ लाख बढी सक्रिय सदस्य छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update