Shittalpati
तानसेनमा सुकुम्बासी समस्याको समाधान खोज्दै नगर सरकार

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको तानसेन नगर सरकारले सुकुम्बासी समस्याको समाधानका लागि प्रक्रिया अगाडि बढाएको छ । देशमा सुकुम्बासी र अव्यवस्थित बसोवासीका नाममा विभिन्न क्षेत्रमा जमिन ओगटेर बसेका तर आफ्नो नाममा जमिनको स्वामित्व नभएका परिवारका लागि जमिन वितरण गर्ने सरकारको योजना अनुसार तानसेन नगर सरकारले पनि काम अगाडि बढाएको छ । नगर सरकारले भूमि सम्बन्धी समस्या समधान आयोग पाल्पासँग सहकार्य गरी समस्याको समाधानतर्फ प्रक्रिया अगाडि बढाएको हो । नगरपालिकाले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि नगर प्रमुख अशोक कुमार शाहीको संयोजकत्वमा भूमि सम्बन्धी समस्या समधान आयोग नगरस्तरीय सहजीकरण समिति गठन गरी काम अगाडि बढाएको छ । नगरस्तरीय सहजीकरण समितिले लगत संकलन गर्नुपूर्व वडास्तरी सहजीकरण समितिका पदाधिकारीहरुलाई दुई दिने अभिमुखिकरण गोष्ठी समेत गराएको छ । नगरका १८ वटै वडामा सुकुम्बासी समस्याको समाधानका लागि नगर सरकारले वडास्तरीय सहजीकरण समिति गठन गरि काम अगाडि बढाएको छ । नगरभित्रको भएर पनि आफ्नो नाममा जमिनको टुक्रा नभएर जहिले पनि भय र असुरक्षाको जीवन बाँच्न बाध्य तानसेनका सयौं परिवारले अब राहत पाउनेछन् । जिल्लामा भूमिहिन, दलित र सुकुमवासीको उचित व्यवस्थापन गर्न थालिएको भूमि सम्बन्धी समस्या समधान आयोगका जिल्ला अध्यक्ष यक प्रसाद भण्डारीले बताए । उनले भने ‘हामी प्रत्येक वडा–वडा र गाउँपालिका, नगरपालिकाबाट समस्याहरुको समाधान छिट्टै गर्ने गरी काम थालेका छौं ।’

सबै सुकुम्वासीलाई जग्गाको मालिक बनाउने बताउँदै भण्डारीले समस्याको दीर्घकालीन समाधान सुरु गरिएको बताए । जग्गा भएर पनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक बनाउने उनको भनाई छ । नगर भित्र भूमिहिन थुप्रै समस्या भएकाले उनीहरुको समस्याको समाधानका लागि आफुहरु सक्रिय भएर लागेको कार्यवाहक नगर प्रमुख लक्ष्मीदेवी पाठकले बताईन् । उनले सुकुमवासीको ब्यवस्थापनमा स्थानीय तहहरु अझै अन्योलमा रहेकाले आयोगले छिट्टै समधान तर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन् । अभिमुखीकरण कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै भूमि सम्बन्धी समस्या समधान आयोगका जिल्ला सदस्य रामजी पोखरेलले सरकारले नै भूमि सम्बन्धी समस्या समधानका लागि दिर्घकालीन योजना बनाएर अगाडि बढेकोले ढुक्क भएर यस अभियानमा सक्रिय भएर लाग्न सहभागीहरुलाई आग्रह गरे । उनले आफ्ना वडामा रहेका दलित, भूमिहिन र अव्यवस्थितवासीहरुलाई उचित व्यवस्थापन गर्ने कार्यक्रमा वडास्तरी सहजीकरण समितिका पदाधिकारीहरुको भूमिका महत्वपूर्ण रहने बताए । प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले नगर भित्र रहेका भूमिहिन, दलित र सुकुमवासीको समस्या समाधानमा नगर सरकार विशेष चनाखो भएर अगाडि बढेको बताए ।

उनले प्रारिम्भक चरणमा वडास्तरीय सहजीकरण समितिलाई सुकुम्वासी समस्या समाधानका लागि अभिमुखिकरण तालिम दिइएको बताए । त्यस लगत्तै नगर सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको सहकार्यमा लगत संकलन गर्ने भूमि सम्बन्धी समस्या समाधान इकाई तानसेनका प्रमुख तथा बरिष्ठ अधिकृत दुर्गा थापाले बताए । दुई दिन सम्म भएको अभिमुखीकरण कार्यक्रममा अधिकांस सहभागीहरुले अभिमुखीकरण कार्यक्रमबाट आफुले भूमिहिन सुकुमवासीहरुको ब्यवस्थापनका विषयमा स्पष्ट भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update