Shittalpati
तानसेनमा भूमि समस्या समाधानका लागि अभिमुखिकरण

पाल्पा, तानसेनमा भूमि समस्या समधानका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । तानसेन नगरपालिकाको आयोजनामा वडास्तरीय सहजीकरण समितिका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि वडा–वडामा सहजीकरण समिति गठन गरी कार्यक्रम अगाडि बढाइएको छ । नगरपालिकाले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि नगर प्रमुख अशोक कुमार शाहीको संयोजकत्वमा भूमि सम्बन्धी समस्या समधान आयोग नगरस्तरीय सहजीकरण समिति गठन गरी काम अगाडि बढाएको हो । नगरस्तरीय सहजीकरण समितिले लगत संकलन गर्नुपूर्व वडास्तरी सहजीकरण समितिलाई बुधबारदेखि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा भूमि सम्बन्धी समस्या समधान आयोगका जिल्ला अध्यक्ष यक प्रसाद भण्डारीले भूमिहिन, दलित र सुकुमवासीको उचित व्यवस्थापन गर्न थालिएको बताए । उनले भने ‘हामी प्रत्येक वडा–वडा र गाउँपालिका, नगरपालिकाबाट समस्याहरुको समाधान छिट्टै गर्ने गरी काम थालेका छौं ।’ कार्यक्रममा नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मीदेवी पाठकले नगर भित्र भूमिहिन थुप्रै समस्या भएकाले उनीहरुको समस्याको समाधानका लागि आफुहरु सक्रिय भएर लागेको बताईन् ।

उनले सुकुमवासीको ब्यवस्थापनमा स्थानीय तहहरु अझै अन्योलमा रहेकाले आयोगले छिट्टै समधान तर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा भूमि सम्बन्धी समस्या समधान आयोगका जिल्ला सदस्य रामजी पोखरेल, तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले आ–आफ्ना वडामा रहेका दलित, भूमिहिन र अव्यवस्थितवासीहरुलाई उचित व्यवस्थापन गर्ने कार्यक्रमा वडास्तरी सहजीकरण समितिका पदाधिकारीहरुको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा सहभागीहरुले भूमिहिन सुकुमवासीहरुलाई ब्यवस्थापन गर्न कठिनाई हुने बताएका छन् । उनीहरुले केही वडाहरुमा विवाद हुँदा आफ्नो जग्गामा बसेकाहरुले लालपूर्जा नपाएको बताएका छन् । सार्वजानिक जग्गामा सुकुमवासी राख्न नपाइने र वडामा सरकारी जग्गा कम भएकाले उनीहरुको ब्यवस्थापनमा कठिनाई हुनेमा उनीहरुले जोड दिए । कार्यक्रममा भूमि सम्बन्धी समस्या समधान इकाई तानसेनका प्रमुख तथा बरिष्ठ अधिकृत दुर्गा थापाले कार्यक्रम र प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले कार्यक्रममा सहजिकरण गर्दै आएका छन् । नगरपालिकाको कार्यवाहक नगर प्रमुख लक्ष्मीदेवी पाठकको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत पाण्डेको स्वागत, नगर कार्यपालिका सदस्य नारायण पाण्डेको सञ्चालनमा पहिलो दिनको उद्घाटन सत्र कार्यक्रम भएको थियो । कार्यक्रम आज सकिदै छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update