Shittalpati
डढेलो नियन्त्रणमा पाल्पाका सामुदायिक वनको चासो

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा पछिल्लो समय आगलागीका घटनाहरु बढ्दै गएका छन् । चैत महिना लागेसँगै यहाँ दिनहुँ जसो जंगलमा आगलागी हुने गरेको पाइन्छ । आगलागीका घटनाहरु बढ्दै गएपछि यहाँका सामुदायिक वनहरुले डढेलो नियन्त्रणमा चासो देखाएका छन् । डढेलोका कारण अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी भएपछि सामुदायिक वनहरुले विशेष चासो देखाएका हुन् । जिल्लाका २२ वटा सामुदायिक वन उपभोक्ता समुहहरुले डढेलोले विकराल रुप लिएपछि त्यसको नियन्त्रणका लागि विशेष सामग्रीहरुको जोहो गरेका छन् । उनीहरुले आफ्नै बजेटमार्फत डढेलो नियन्त्रणका लागि जिल्लाका तीनै निकायका सुरक्षा निकायहरुलाई आवश्यक सामग्रीहरु दिएका छन् । रिब्दीकोट सब डिभिजन वन कार्यालय अन्तर्गतका २१ वटा र तानसेन सब डिभिजन वन कार्यालय अन्र्तगत मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समुहको तर्फबाट ३ लाख ३५ हजार रुपैयाँ बराबरको अग्नि नियन्त्रणमा प्रयोग हुने सामग्री प्रदान गरिएको वन कार्यालयका रेञ्जर तथा जिल्लास्तरीय र्‍यापिड रेस्पोन्स टिमका संयोजक यमलाल पोखरेलले बताए । उनका अनुसार गोरखदल गण पाल्पा,जिल्ला प्रहरी कार्यालय पाल्पा र सशस्त्र प्रहरी बल गुल्म पाल्पालाई डढेलो नियन्त्रणमा आवश्यक सामग्री दिएको हो ।

प्रत्येक सुरक्षा निकायलाई १५ सेट rake,१५ सेट swatter, ३० गोटा हेल्मेट र ४ सेट jump suit उपलब्ध गराइएको छ भने बाँकी सामग्रीहरु स्थानीय मुझुङ्ग इलाका प्रहरी कार्यालय, हार्थोक प्रहरी चौकी र सर्देवा प्रहरी चौकिलाई समेत उपलब्ध गराउने समुहहरुले जनाएका छन् । सबैजसो सामुदायिक, कबुलियती र निजी वन यतिबेला डढेलोको लपेटामा छन् । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको आगोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा आगो चाँडै फैलने गर्छ । अहिलेसम्मा जिल्लाका ६४ वटा सामुदायिक जंगलमा डढेलो लागेको छ । डढेलोबाट ६४ वटा सामुदायिक वनको १ हजार ५ सय १० हेक्टर जमिनको घाँसपात दाउरा काठपात जलेर नष्ट भएको छ ।
दिनहुँ बढ्दो गर्मीसंगै लामो सयमदेखी पानी नपरेकाले दिनहुँ पाल्पामा आगलागीका घटना बढ्दै गएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । दैनिक दुई देखी तीन सय हेक्टर जमिनमा आगलागी हुँदै आएको डिभिजन प्रमुख डा. मोहन पौडेलले बताए । आफैंबाट संरक्षित वन जोगाउन उपभोक्ता आफैले चासो नराख्दा जिल्लामा वन सखाप बन्दै गएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update