Shittalpati
उर्जा क्षेत्रको अवस्था,सम्भावना र चुनौतीका विषयमा स्थानीय सरकारसँग तानसेनमा छलफल

रामचन्द्र रायमाझी
पाल्पा,नविकरणीय उर्जा क्षेत्रको अवस्था, सम्भावना र चुनौतीका विषयमा तानसेनमा स्थानीय सरकारसँग छलफल भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा पाल्पा, गुल्मी र अर्घाँखाचीका स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीसँग मंगलबार उर्जा क्षेत्रको अवस्था, सम्भावना र चुनौतीका विषयमा छलफल भएको हो । सरकारले अगाडि सारेको उज्यालो अभियानलाई सार्थक पार्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरी महासंघले स्थानीय सरकारसँग छलफल अगाडि बढाएको छ ।

छलफलमा तीन जिल्लाका जनप्रतिनिधिहरुले स्थानीय तहमा खेर गईरहेको वैकल्पिक उर्जाका स्रोतहरुलाई उच्चतम प्रयोग गरी दिर्घकालीन योजना बनाउन महासंघ र उर्जा प्रवद्र्धन केन्द्रलाई सुझाव दिएका छन् । उनीहरुले स्थानीय तहमा सञ्चालित केही वैकल्पिक उर्जाका लघु उद्योगहरु आर्थिक अभावका कारण बन्द भएकाले तिनीहरुको पनि प्रयोग गरी उर्जा प्रवद्र्धन गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा छत्रगञ्ज गाउँपालिका अर्घाँखाचीका अध्यक्ष लेखनाथ पोखरेल, माथागढी गाउँपालिका पाल्पाका अध्यक्ष सन्तोष थापा मगर, मदाने गाउँपालिका गुल्मीका अध्यक्ष दान बहादुर केसी लगायतले विगतमा उर्जा प्रवद्र्धनका क्षेत्रमा योजना लागु गरी त्यसलाई निरन्तर दिन नसकेका थुप्रै उदाहरणहरु स्थानीय तहमा रहेकाले त्यहाँबाट पाठ सिकेर योजनालाई दिगोपना दिने विषयमा ध्यान दिनुपर्ने बताए । उनीहरुले स्थानीय स्तरमा खेर गइरहेका वैकल्पिक उर्जाका स्रोतहरुको अधिकतम प्रयोग गरी आर्थिक उत्पादनसँग जोड् गाउँपालिका महासंघ र उर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गर्न आफुहरु तयार रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा महासंघ प्रदेश पाँचका अध्यक्ष तथा चन्द्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले प्रदेश भित्र रहेका स्थानीय तहलाई आर्थिक रुपमा सक्षम र बलियो बनाउन महासंघले वैकल्पिक उर्जा प्रवद्र्धनसँग सहकार्य गर्ने बताए । उनले गाउँपालिकाको हकहितका लागि महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । अध्यक्ष पन्तले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत हुने सेवाहरु स्थानीय तहमा सम्झौता भएपछि मात्र पछिल्लो भुक्तानी दिने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

महासंघका संस्थापक तथा वर्तमान सल्लाहकार नारायण प्रसाद कोइरालाले महासंघले स्थानीय तह र जनप्रतिनिधिहरुको हितमा सधैव प्रभावकारी कदम चाल्दै आएको बताए । महासंघका केन्द्रिय सदस्य तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले सरकारले अगाडि सारेको उज्यालो अभियानलाई सार्थक पार्न छलफल कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा तीन जिल्लाका २१ स्थानीय तहबाट जनप्रतिनिधि, कर्मचारीहरुको सहभागिता रहेको थियो । छलफलबाट आएका विषयवस्तुहरुका अधारमा एक महिना भित्र विवरण तय गर्ने, विवरणका आधारमा कार्यक्रमको प्रथामिकीकरण गर्ने,प्रथामिकीकरणका आधारमा कार्यक्रम लागु गर्ने महासंघका प्रदेश समन्वय अधिकृत तथा कार्यक्रमका सहजकर्ता शिव रेग्मीले जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update