Shittalpati
माथागढी र रैनादेवी सरकार बीच अनुभव आदान–प्रदान

पाल्पा (झडेवा), पाल्पाका दुई स्थानीय सरकार बीच अनुभव आदान–प्रदान गरिएको छ । माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका बीच कार्यगत अनुभव आदान–प्रदान गरिएको हो । माथागढी गाउँपालिकाले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की र उपाध्यक्ष चेतना थापालाई गाउँपालिकाको कार्यालयमा स्वागत गर्दै दुई स्थानीय तह बीच आदान–प्रदान गरेको थियो । भेटमा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जननिर्वाचित भए पछि आफ्नो गाउँपालिकामा भए गरेका उल्लेखनीय कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष कार्कीले छहरा गाउँपालिकाले टुकी रहित गाउँपालिका बनाउन विजुली बत्तिको कार्यक्रम सम्पन्न गरेको, छहरादेखि सालझण्डी जोड्ने मोटरबाटो पक्की कार्यक्रम सञ्चालन भइरहेको, १८ सय घरधुरीलाई लक्षित गरी खरको छाना विस्थापित कार्यक्रम सञ्चालन भैरहेको, १५ ओटा लिफ्टिङ्ग खाने पानीको योजनामध्ये ४ ओटा खानेपानी लिफ्टिङ्ग कार्यक्रम सम्पन्न भएको बताए । यसैगरी उनले गाउँपालिकाले आफ्नै लगानीमा गाउँपालिकाको भवन निमार्णको कार्य अगाडि बढाई अन्तिम चरणमा पुगेको, खेल मैदान रङ्गसाला विकास गरेको, छहरामा नयाँपार्क निमार्ण गरेको, ६ ओटा वार्डहरुमा स्वास्थ्य इकाई स्थापना गरेको, कृषि कार्यक्रम अन्तर्गत बाँझो जग्गामा कृषि उत्पादन गर्नेहरुलाई अनुदान प्रदान गरेको र यस कार्यक्रम अन्तर्गत ७८ सय रोपनी बाँझो जग्गामा उत्पादन शुरु भएको अध्यक्ष कार्कीले बताए । कार्यक्रममा अध्यक्ष कार्कीले कर्मचारी र जनप्रतिनिधिहरु बिच एकता र तालमेल भयो भने विकासका गतिविधि अघि बढ्न सहज हुने भन्दै कर्मचारीहरुले नुनको सोझो गरेर काम गर्नु पर्ने र लोभी प्रवृतीलाई हटाउनुपर्ने बताए । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निमार्ण गरी पठन–पाठन शुरु गरेको, ८ सय विपन्न घरपरिवारलाई ८ करोड रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको, ८ ओटै वडामा जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को स्थापना गरेको जस्ता उदाहारणीय कार्यहरु गरिएको बताए । कार्यक्रममा रैनादेवी छहराका उपाध्यक्ष चेतना थापा, माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल लगायत विषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । माथागढी गाउँपालिकाको तर्फबाट उनीहरुलाई खादा ओढाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update