Shittalpati
बगनास सरकारले भन्यो –‘राजमार्गका घर भत्काउनुपूर्व स्थानीय सरकारसँग छलफल गरिनुपर्छ’

रामचन्द्र रायमाझी
पाल्पा, सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग विस्तारका क्रममा सडक क्षेत्र अतिक्रमण गरी बनेका घरहरु भत्काउने तयारी गरेपछि पाल्पाको बगनासकाली गाउँ सरकारले त्यस विषयमा विशेष चासो देखाएको छ । सडक क्षेत्र अतिक्रमण भई बनेका घरटहराहरु भत्किने निश्चित भएपछि घरधनीहरुले गाउँसरकारसँग गुनासो राखेका थिए । उनीहरुको गुनासोलाई मध्यनजर गर्दै गाउँसरकारले यस विषयमा विशेष चासो देखाएको हो । गाउँसरकारको बुधबार बसेको बैंठकले सडक डिभिजन कार्याललाई राजमार्गका घर भत्काउने विषयमा स्थानीय र प्रदेश सरकारसँग छलफल गरिनुपर्ने बताएको छ । उसले जनताको उचित व्यवस्थापन नगरिकन घरटहरा भत्काउनु उचित नहुँने भन्दै स्थानीय र प्रदेश सरकारसँग छलफल गरेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने बताएको हो ।

जनताको लिखित माग अनुसारको गाउँपालिकाले सडक कार्यालयलाई उक्त विषयमा पत्र समेत पठाउने तयारी थालेको छ । गाउँसरकारले सडक विस्तार हुने जग्गामा अग्रीम चिन्ह लगाउनुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने तथा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने जनाएको छ । गाउँपालिकाले सवारी चापका आधारमा मापदण्ड तयार गर्नुपर्ने, जग्गा खाली गराउने समय तोकिनुपर्ने र मुआब्जाको व्यवस्था गरेर मात्र घरटहरा फत्काउने विषयमा सोच्नुपर्ने जनाएको छ । उसले एक पटक स्थानीय सरकार र प्रदेश सरकारसँग सडक कार्यालयले छलफल चलाउनुपर्ने बताएको हो । राजमार्ग विस्तार गर्ने क्रममा उचित अध्ययन र अनुसन्धान गरेर मात्र काम गरिनुपर्ने गाउँसरकारका प्रमुख कृष्ण प्रसाद बस्यालले बताए । सिद्धबाबा सडक खण्डको विस्तार नगरेसम्म अन्य राजमार्ग विस्तार गरिनु सान्दर्भिक नहुने उनको भनाई छ । राजमार्गको मुख्य क्षेत्र मानिने सिद्धबाबा क्षेत्र नै अस्तव्यस्त रहेको अवस्थामा राजमार्गका अन्य सडक विस्तार गर्नुको कुनै पनि औचित्य नरहेको अध्यक्ष बस्यालले बताए । उनले भने ‘सिद्धबाबा सडक विस्तार गरेर मात्र अन्य सडक विस्तारमा लाग्नुपर्ने र अतिक्रमित संरचना बनाइएका क्षेत्रका जनताको उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’ हामी विकासको विरोधी पनि होइनौ तर जनताको कम क्षति हुने गरि विकास गरिनुपर्छ भन्ने गाउँपालिकाको बुझाइ रहेको अध्यक्ष बस्यालले बताए ।

सिद्धार्थ राजमार्ग विस्तारका क्रममा पाल्पा खण्डमा निर्माण भएका करिब ७ सय घर भत्किने भएपछि सबैको ध्यान यतै केन्द्रित भएको छ । जिल्लाका अधिकांस नागरिकहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो बनाएर मात्र घरटहरा भत्काउनुपर्ने बताउदै आएका छन् । उनीहरुले विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो नबनाई जनतालाई उठिबास लगाउन थाल्नु दुखद् रहेको बताएका छन् । पहिले सिद्धबाबा ,दोभान क्षेत्रको बाटो निर्माण गर्ने र आवश्यक क्षतिपुर्ति पछि मात्रै बाटो बिस्तार गरिनुपर्ने स्थानीयको माग छ । डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका भौतिक संरचना तत्काल आफैं हटाउन पटक–पटक निर्देशन जारी गर्दै आएको छ । उसले गत माघ २० गते सूचना निकालेर व्यक्ति आफैलाई सडकका संरचना हटाउन एक साताको सूचना प्रकाशित गरेको थियो । तर एक सातापछि पनि कुनै पनि व्यक्तिले सडक मिचेर बनाइएका संरचना नहटाएपछि सडक कार्यालय आफैँ यस्ता संरचना हटाउने तयारीमा लागेको छ । सडकको क्षेत्राधिकारभित्र परेका संरचना हटाउनका लागि सडक कार्यालयले रेखानको कार्य समेत गरिसकेको जनाएको छ । सडकले दिएको एक हप्ताको समय सिमा पनि सकिए पछि पुनः फागुन १३ गते अर्को सूचना निकालेर व्यक्ति आफैलाई संरचना हटाउन भनेको छ । यदि अटेर गरे उक्त संरचना सडक कार्यालयले आफै हटाउने बताइएको छ ।

कार्यालयले तत्काल सडक सिमा खाली गर्न आग्रह गरेको छ । अन्यथा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ अनुसार कुनैपनि व्यक्तिले बनाएका संरचना हटाउन लाग्ने शुल्क सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने सूचनामा उल्लेख गरिएको छ । बुटवलको चिडियाखोलादेखि पाल्पाको सिमाना राम्दी क्षेत्रसम्म सडक सिमानाको २५ मिटरभित्र दायाँबायाँ बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किनेछन् । फालिने ७ सय घरमध्ये करिब ४ सय पक्की घर छन् । ३ सय कच्ची घर हुन् । सरकारी जग्गा मिचेर बनाइएका यि घरहरु भत्काउने गरी सडक कार्यालय अगाडि बढेको डिभिजन प्रमुख मुकुन्द अधिकारीले बताए । उनले भने ‘हामीले सरकारी जग्गा मिचेर घर बनाएका घरधनीहरुलाई सार्वजनिक सूचना निकालेर जानकारी गराएका छौं, अटेर वा बेवास्ता गरी भौतिक संरचना नहटाएको स्थानमा डिभिजन सडक कार्यालयले जुनसुकै समयमा पनि डोजर सञ्चालन गरी सडक सीमा क्षेत्रभित्रका संरचना हटाउँछ ।’ उनले कोही पनि कानुन भन्दा माथि नभएको बताए । विगतमा पनि अवरोधहरु नआएका होइनन् तर ति अवरोधहरुलाई पन्छाउदै आफुहरु अगाडि बढेको अधिकारीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update