Shittalpati
माथागढीले विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै

पाल्पा (माथागढी), जिल्लाको माथागढी गाउँपालिकाले ७१ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा गाउँपालिकाले फागुन ६ गते र ७ गते विधि कार्यक्रम गर्न लागेको हो ।
गाउँ कार्यपालिकाको बैठकले दुई दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा गाउँपालिकाले फागुन ६ गते गाउँपालिकाको कार्यालय झडेवामा सरसफाई गर्ने, सोही दिन गाउँपालिका अन्तर्गतका कर्मचारीबीच हाजिरी जवाफ प्रतियोगिता गर्ने र फागुन ७ गते गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि तथा कर्मचारीहरुबीच एकल ब्याटमिन्टन प्रतियोगिता गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए ।

हाजिरी जवाफ प्रतियोगिताका लागि गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्यचौकी तथा वडाका कर्मचारीहरुलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ । प्रतियोगिताका लागि एक टिममा २ जना पुरुष र २ जना महिला गरी ४ जना सहभागी हुनुपर्ने छ । त्यस्तै एकल ब्याटमिण्टन प्रतियोगिताका लागि गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी हुन समेत आग्रह गरेको छ । गाउँपालिकाले हरेक वर्ष प्रजातन्त्र दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको स्मरण गर्दै संघीय सरकारले समेत फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ सालमा बलिदानी दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update