Shittalpati
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो

गुल्मी,बडिगाड गाउँपालिका ४ जलजला केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । बागलुङ्गको अत्यन्त दुर्गम गाउँको रुपमा रहेको जलजलामा पहिलोपटक नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा पुर्‍याएको हो ।

झण्डै ८ वर्ष देखि लघु जलविद्युतमार्फत सामान्य सेवा उपभोग गरेका यस गाउँका नागरिकहरु केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि उत्साहित भएका छन् । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत ५५ लाखको लागतमा विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । प्राधिकरणले गलकोट नगरपालिका ५ हरिचौरमा रहेको सब स्टेसनबाट ११ केभी प्रसारण लाइनमार्फत गाउँपालिकाको खौलारा बजारदेखि ट्यापिङ गरेर ४ किलोमीटरको दूरीमा झुलेडाँडामा ५० केवी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरेको छ । दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको प्राधिकरणले जनाएको छ । आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोल सँगै अन्य विद्युतीय सामग्री व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका सुपरभाइजर असीम पन्तले बताए ।

भौगोलिक विकटताका कारण लघुजलविद्युतमार्फत पटक–पटक उत्पन्न हुने समस्याका कारण लामो समयदेखि हैरानी खेप्नु परेको समाजसेवी झविन्द्र बुढाथोकीले बताए । स्थानीयले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम हुनुका साथै नियमित नहुँदा उद्योग, ब्यवसायमा समस्या झेल्दै आएकोमा अब भने यी समस्या हटेर जाने स्थानीय माया श्रीसको भनाई छ । केन्द्रीय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्विमा जोड्न सहज हुने बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले बताए । केन्द्रीय प्रसारण लाइनले उद्योग, व्यवसाय सञ्चालन गर्न यस क्षेत्रका नागरिकलाई सहज हुने वडा अध्यक्ष प्रेम गलामीले बताए । केन्द्रीय विद्युतलाई क्रमशः गाउँपालिका भित्रका सबै वडा र जिल्लाभर विस्तार गर्ने योजना प्राधिकरणको रहेको छ । – पत्रकार कौरव खत्री

 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update