Shittalpati
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित

रमेश विश्वकर्मा
गुल्मी । सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय गुल्मीले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/७६ मा पनि सबैभन्दा बढी कर तिर्ने जयराम हार्डवयर सेन्टर तम्घासका व्यवस्थापक रामप्रसाद पन्थीलाई सम्मान गरेको हो ।

सबैभन्दा बढी आयकर दाखिला गरेका पन्थीलाई सम्मान स्वरुप प्रमाण–पत्र, दोसल्ला, अबिर र खादा सहित कार्यालय प्रमुख कर अधिकृत विनोद कुमार माझी, कार्यक्रम संयोजक सरिता अर्याल घिमिरे लगायतले सम्मान गरेका हुन् । व्यवसायी पन्थीले १७ करोड ६६ लाख बराबरको कारोबार गरेबापत सरकारलाई २० लाख ४८ हजार २ सय ९९ रुपैँया राजस्व तिरेका थिए ।

बढी कारोबार गर्ने, बढी आयकर तिर्ने र सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थको कारोबार नगर्ने व्यवसायीलाई छनौट गरी सम्मान गरिएको कर अधिकृत माझीले बताए । उनले भने, ‘यसबाट समाजमा असर पुर्‍याउने कारोबार भन्दा पनि अन्य कारोबार गर्ने व्यवसायलाई सरकारले समेत विशेष ध्यान पुर्‍याएको भन्ने सन्देश प्रवाह भएको छ ।’

उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका पन्थीले करदाता सेवा कार्यालयले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गरेका छन् । जिल्लामा करदाता सेवा कार्यालय सञ्चालनमा आएसँगै कर तिर्नकै लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको पन्थीले बताए । उनले भने,‘व्यवसाय सञ्चालन गरेपछि इमान्दारीका साथ राज्यलाई कर तिर्नुपर्छ । जिल्लामा कर शिक्षाको आवश्यकता रहेको छ । कर कार्यालय र व्यवसायी बीच नङ र मासुको सम्बन्ध रहेको छ ।’

आन्तरिक राजश्व कार्यालय बुटवललाई कुल १० अर्ब ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा गुल्मी जिल्लाबाट मात्रै अहिले ४ करोड राजस्व संकलन भईसकेको कार्यालय प्रमुख माझीले जानकारी दिए । अहिले घर दैलोमा नै कर कार्यालय आएकाले व्यवसायी र करदातालाई सजिलो भएकाले राजस्व संकलनमा वृद्धि भएको छ । करदातालाई थप सहज र सर्वसुलभ सेवा प्रवाहका लागि आफूहरु लागि परेको उनले बताए ।

करदाता सेवा कार्यालय यहाँ स्थापना भएसँगै ‘‘स्वच्छ, पादर्शी र प्रविधिमैत्री कर प्रशासन, विकास समृद्धि र सुशासन’’ भन्ने नाराका साथ यस जिल्लामा पहिलो पटक यो दिवस मनाईएको हो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गत तम्घासस्थित रेसुङ्गा नगपालिका–१ क्याम्पसरोडमा कार्यालय स्थापना भएपछि यस कार्यालयबाट कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, जस्ता सेवा प्रवाह भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update