Shittalpati
‘पुष्पलाल पत्रकारिता’ पुरस्कार श्रेष्ठलार्ई प्रदान गरिने

पाल्पा, तानसेन नगरपालिकाद्वारा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यसवर्ष वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ । तानसेन नगरपालिकाले पुष्पलालको जन्मदिनका अवसरमा २०७७ साल असार १४ गते प्रदान गर्ने उक्त पुरस्कारको राशि एक लाख एघार हजार १ सय ११ रहेको छ । वरिष्ठ पत्रकार दिल साहनीको संयोजकत्वमा गठित सिफारिस समितिले पुष्पलालका समकालीन, राष्ट्रियता र देशभक्तिका मुद्दामा सदैव पत्रकारिताका माध्यमबाट लेखन कार्यलाई निरन्तरता प्रदान गर्नुहुने वरिष्ठ पत्रकार श्रेष्ठलाई पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।

हिरण्यलाल श्रेष्ठ डेली डायरी साप्ताहिक, रातो युगधारा साप्ताहिक र जनजागृति साप्ताहिकका प्रधान सम्पादक हुन् । उनले जनजागृतिमा सम्पादकीय लेखेकै निहुँमा तीन वर्ष जेल जीवन बिताउन बाध्य भएका थिए । तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको नाममा पत्रकारिकता पुरस्कार स्थापनाका लागि पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारको कोषसमेत निर्माण गरेको छ । कोषका संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, सहसंयोजकमा प्रेस काउन्सिलका नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र कोषको संरक्षकमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही रहेका छन् । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक रहेका थिए । –रासस

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update