Shittalpati
पाल्पाका महिला खसी बोका बेचेर दसैँ खर्च जुटाउँदै

कृष्ण पोखरेल
पाल्पा । जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटकी भुमिसरा ठाडामगरले दसैँ नजिकिदै गर्दा दुई वटा खसी बेचेर ५१ हजार रुपैयाँ आम्दानी गरिन् । तिहारको लागि भूमिसराले दुईवटा खसी विक्रिका लागि तयारी अवस्थामा राखेकी छन् । खसी विक्रीबाटै भुमिसराले यपालिको दसैँ मनाउने भएकी छन् । खसी बोकाको आम्दानीको कारण दसैँ तिहार जस्ता चाडपर्व मनाउन कसैसँग ऋण काढ्नु नपर्ने उनी बताउँछिन् । उनी मात्र होइन जिल्लाका अधिकांश महिलाहरु दसैँ तिहार नजिकिएसँगै खर्च जुटाउनका लागि खसी बोका बेच्दै आएका छन् । कोरोना संक्रमणका कारण अधिकांश नेपालीहरु रोजगारी गुमाई दसैँ खर्च जुटाउन धौं–धौँ भईरहेको समयमा यहाँका अधिकांश महिलाहरुले खसी बोका बेचेरै लाखौं रुपैयाँ कमाएका छन् । बगनासकाली गाउँपालिका ४ खानीछापकी भगवती दर्लामीले पनि दसैँको मुखैमा एउटा खसी बेचेर १८ हजार २ सय ७५ रुपैयाँ आम्दानी गरिन् । दर्लामीले पनि खसी बेचेकै पैसाले दसैँ मनाउने भएकी छन् ।

खानीछापकै नरमती चौहानले ९ वटा खसी बोका विक्री गरेर १ लाख १२ हजार ७ सय ६० रुपैयाँ आम्दानी गरेकी छन् । पूर्वखोला गाउँपालिका १ सिलुवाकी पूर्णकुमारी श्रेष्ठले १४ वटा खसी बोको विक्री गरेर १ लाख ५६ हजार रुपैयाँ आम्दानी गरिन् । खानीछापकै मायासरा बाकावलले ४ वटा खसी विक्री गरेर ७२ हजार रुपैयाँ आम्दानी गरिन् । रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गकी विमला नेपालीले ५ वटा खसी बेचेर ८० हजार ८ सय ४० रुपैयाँ आम्दानी गरेकी छन् । दसैँ तिहार जस्ता चाडपर्वमा भारतीय बजारबाट खसी बोका भित्रिने गरे पनि केही वर्षयता पाल्पामा खसीबोका खरिद गर्न बुटवल भैरहवा, नारायाणघाट, पोखरा, विरगंजसम्मका व्यापारीहरु पुग्ने गरेका छन् । महिलाहरुले उत्पादन गरेका खसी बोकाहरु व्यापारीहरुले सहकारीमार्फत खरिद गर्दै आएका छन् ।

पाल्पामा दसैँ तिहारलाई लक्षित गरेर ५ हजार ३ सय खसी बोका विक्रीका लागि राखिएकोमा २ हजार १ सय विक्री भइसकेको ३ हजार २ सय विक्रीका लागि तयारी अवस्थामा राखिएको छ । महिला उपभोक्ताहरुलाई संघगठीत गर्ने, समूह बनाउने र समूहलाई सहकारीमा जोडी उनीहरुको बजारसँंग जोड्ने प्रविधि, सिप सहयोग गर्ने, उद्यमी बन्नको लागि आवश्यक पर्ने सहुलियत ऋणको लागि हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको हेफर इन्टरनेसनल नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताए । जसको कारण महिला उद्यमीहरु विचौलियाबाट ठगिनबाट बच्दै बजार मूल्य अनुसार खसीबोका विक्री गर्न पाएका छन् । हेफरले पाल्पामा साना किसानहरुको संस्था सवलिकरण परियोजना अन्तर्गत विभिन्न १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरु मार्फत ३ सय ४४ वटा समूहका ६ हजार ९ सय ७३ घर परिवारमा उत्पादनलाई बजारसँग जोड्ने, आधुनिक प्रविधि तथा सीपका विषयमा जानकारी गराउने, व्यवसायका लागि आवश्यक पूँजी सहयोग गर्दै आएको छ । दसैँका लागि स्वावलम्वन सामुदायिक उद्यमी महिला सहकारी संस्था निस्दी ४ पाल्पाले ५ सय खसी बोका, गल्धा सामुदायिक उद्यमी महिला सहकारी संस्था निस्दी ५ गल्धाले २ सय ८० वटा, मनकामना सामुदायिक उद्यमी महिला सहकारी संस्थाले २ सय ८० वटा, उपहार सामुदायिक उद्यमी महिला सहकारी संंस्था रम्भा २ फोक्सिङ्गकोटले ४ सय १० वटा, विक्रीमा राखेको छ ।

यस्तै मिलनसार सामुदायिक उद्यमी महिला सहकारी संस्था तानसेन १३ बौघापोखराथोकले २ सय वटा, लगनशिल सामुदायिक उद्यमी महिला सहकारी संस्था रैनादेवी छहराले २ सय ७० वटा, कालीका महिला उद्यमी सहकारी संस्था रैनादेवी छहरा ५ मुझुङ्गले १ सय ९० वटा, खानीछाप सामुदायिक उद्यमी महिला सहकारी संस्था बगनासकाली ४ खानीछापले २ सय १६ वटा, पिपलडाँडा सामुदायिक उद्यमी महिला सहकारी संस्था रम्भा २ फोक्सि·कोटले २ सय ११ वटा खसीबोका विक्रीका लागि तयारी अवस्थामा राखेका छन् । त्यस्तै जलदेवी सामुदायिक उद्यमी महिला सहकारी संस्था निस्दी २ सहलकोटले २ सय ८७ वटा, शुभसन्देश कृषि तथा पशु विकास महिला सहकारी संस्था पूर्वखोला २ जल्पाले ९८ वटा, दुर्गादेवी सामुदायिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर २ गाँडाकोटले १ सय ३८ वटा, दियालो सामुदायिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर ३ दर्छाले २ सय १९ वटा र आवासीय पशु तथा कृषि विकास सहकारी संस्था रामपुर ९ अर्वासिङले ९७ वटा खसी बोक विक्रीका लागि राखेका छन् । सहकारीहरुले ३ महिनाको अवधी असोज मसान्तसम्म २ हजार १ सय ६४ वटा खसीबोका विक्री गरी २ करोड २१ लाख ९६ हजार ३ सय ९० रुपैयाँ कारोवार गरी ३ लाख ५० हजार ७ सय ६० रुपैयाँ खुद नाफा कमाएको छ । पाल्पामा खसी बोकाको कारोवार गर्दै आएका १४ वटा सहकारीहरुले वार्षिक रुपमा १३ हजार र दसैँ तिहारमा मात्र ५ हजार ३ सय वटा खसीबोका विक्री गर्ने कार्ययोजना सहित काम गर्दै आएका छन् । ५ वर्ष अघिसम्म पाल्पामा भारतीय खसी बोकाको व्यापार राम्रो थियो । तानसेन बजारमा भारतीय बजारबाट आएका खसी बोकाको मासु नै विक्री हुन्थ्यो । केही वर्षको अवधीमा पाल्पा मासुमा आत्मनिर्भर भएको छ ।

विगत केही समयदेखि तानसेनका मासु पसलहरुमा स्थानीय खसी बोकाको मासु विक्री हुँदै आएको छ । स्थानीय खसी बोका भनेपछि अघिल्लो दिन नै ग्राहकहरुले फोनबाट अडर गर्ने विहान १० बजे भित्र मासु विक्री गरेर सकिने मासु विक्रेताले बताएका छन् । दसैँको लागि एउटा खसी बोका चाहिन्छ नै गाउँ घरमा खोज्न जान भ्याइदैन कोरोना संक्रमणको जोखिम भएकाले पनि घर घरमा डुल्न पनि भएन त्यसैले तानसेनमै गाउँ घरको एउटा खसी अडर गरेको तानसेनका ३ का राजेन्द्रगोपाल सिंहले बताए । दसैँमा मासुको अत्याधिक खपत हुने भएकाले तानसेनका अधिकांश उपभोक्ताले स्थानीय जिउँदो खसी नै बुकि गरेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update