Shittalpati
स्थानीय तहको लोगो डिजाइन गरेका विश्वकर्मालाई नगद सहित सम्मान

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीदरबार गाउँपालिकाको पहिचान सहितको लोगो डिजाइन गरेका गुल्मीका ग्राफिक्स डिजाइनर ईश्वर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको छ । गाउँपालिकाले दिएको अवधारणा अनुसार लोगो डिजाइन गरेका विश्वकर्मालाई दश हजार नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । विश्वकर्मालाई गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत पाण्डेले संयुक्त रुपमा योगदानको उच्च कदर गर्दै नगद र प्रशंसा पत्रले सम्मान गरेका थिए ।

गाउँपालिकाले गरेको सम्मानले आफुलाई हौसला प्रदान गरेको भन्दै विश्वकर्माले गाउँपालिकालाई धन्यवाद दिएका छन् । गाउँपालिकाले केहि समय अघि पहिचान सहितको लोगो सार्वजनिक गरेको थियो । गाउँपालिका लोगो सार्वजनिक गर्नेमा जिल्लामै पहिलो हो । गाउँपालिकाले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, पर्यटन, कृषि क्षेत्रलाई समेटेर सार्वजनिक गरिएको लोगोमा रहेका–७ वटा लालीगुराँसले गाउँपालिका भित्रका ७ वटा वडाहरुलाई जनाएको छ । रेसुङ्गाको पहाड र टावर पार्कको संकेतले पर्यटन एवं समृद्धिको संकेत गरेको गाउँपालिकाले जनाएको छ । चारपाला दरवारको भवनले गाउँपालिकाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संकेत गरेको छ । धानको बाला र मकैको संकेतले गाउँपालिका भित्रको कृषि क्षेत्रलाई समावेश गरेको छ । धानको बालामा रहेका दानाले पालिकाका सम्पूर्ण जनप्रतिनिधि एकताको संकेत गरेको छ । लोगोमा रहेको गोल्डेन माछाले गाउँपालिका बासीको सुख, समृद्धि, सौभाग्यको संकेत गरेको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।

झाँकीहरुको संकेतले पालिकाभित्र रहेको कला, संस्कृति र विभिन्न जातजातिको संकेत गरेको छ । गाउँपालिकाको नक्सालाई महिला पुरुषले उचालेको संकेतमा सुखी र समृद्ध पालिका निर्माणमा सबैको साथ र सहयोग रहेको संकेत गरिएको छ । लोगोमा रहेको मौरीको घार र मौरीले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र जनताले परिश्रमको संकेतसँगै बलिथुम मौरीमा आत्मनिर्भरता भन्ने जनाएको पाण्डेले बताए । लोगोमा रहेको हरियो रङले खेतीयोग्य जमिन र कृषकको प्रतिनिधित्व, रातो रङले आर्थिक क्रान्ति र समृद्धि, सेतो रङले शान्त र सुखी जनताको संकेत गरेको छ । यस्तै पहेलो रङले सौभाग्यको संकेत र निलो रङले पालिकाभित्र स्वच्छ खानेपानीको व्यवस्था भएको संकेत गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका आफैं स्वायत्त भएकाले गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक गरेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update