Shittalpati
घरमै बसेर चाडपर्व मनाउन गुल्मी प्रशासनको आग्रह

रमेश विश्वकर्मा

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक आदेश जारी गरि घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (घ) अनुसार विभिन्न आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बिहिबार आदेश जारी गर्दै अत्यावश्यक काममा घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउन र भौतिक दुरी कायम गर्ने आग्रह गरेका छन् । कोभिड–१९ सक्रमणको दर पछिल्लो समय यस जिल्लामा पनि बढ्दै गइरहेको अवगत गराउँदै प्रजिअ शर्माले सार्वजनिक यातायात सुचारु भए पश्चात सबै जसो बजार क्षेत्रमा भिडभाड समेत बढेको उल्लेख गरेका छन् ।

पटक–पटकको बजार अनुगमको क्रममा कतिपय व्यवसायीहरुबाट स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना नभएको, बजारमा मास्क नलगाई हिड्नेको संख्या बढ्दै गएको समेत पाइएको आदेश पत्रमा उल्लेख गरिएको छ । नेपालीहरुको महान चाड विजयादशमी, तिहार, छठपर्व नजिकिदै आएको छ । यस समयमा देश विदेशबाट मानिसहरुको आवागमन बढ्ने हुँदा सङ्क्रमणको जोखिम समेत बढ्ने उत्तिकै सम्भावना प्रजिअ शर्माले बताए ।

सार्वजनिक निकाय तथा निजी संघ संस्थाबाट सेवा प्रदान गर्दा र सेवा प्राप्त गर्दा, पेशा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न प्रजिअ शर्माले आग्रह गरे । मठमन्दिर, गुम्बा, चर्च, मस्जिद, गुरुद्बार लगायतका धार्मिक र सांस्कृतिक महत्वका स्थानहरुमा हुने नित्य पूजा र आराधना बाहेक समूहमा गरिने भजन, किर्तन लगायतका गतिविधी नगर्ने र नगराउने आदेश गरिएको छ ।

विजया दशमीका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजा पाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाच लगायतका भीडभाडजन्य गतिविधिहरु नगर्ने र नगराउने उल्लेख छ । लक्षण देखिएका सङ्क्रमितहरु नजिकको अस्पतालमा सम्पर्क राखी तोकिएको आइसोलेसनमा बस्ने तथा लक्षण नदेखिएका सङ्क्रमितहरु सकेसम्म घरमै आइसोलेसनमा बस्ने, जथाभावी बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

साथै कन्ट्रयाक ट्रेसिङमा परि वा अन्य कुनै प्रयोजनका लागि स्वाव दिएका व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । साथै, उल्लेखित आदेश विपरितका गतिविधिहरु गरे र गराइएको पाइएमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ वमोजिम कार्वाही गरिने प्रजिअ शर्माले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update