Shittalpati
अस्ताए बरिष्ठ कलाकार ब्रम्हशेखर

रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाली बरिष्ठ कलाकार तथा सामाजिक व्यक्तित्व, भजन संरक्षण समितिका अध्यक्ष ब्रम्हशेखर बज्राचार्यको निधन भएको छ । निमोनियाका कारण युनाईटेड मिसन अस्पतालमा उपचारका क्रममा सोमबार विहान ८९ वर्षको उमेरको बज्राचार्यको निधन भएको हो । १९८८ मा तानसेन भिमसेन टोलमा पिता ज्योतिशेखर बज्राचार्य र माता कुमारी बज्रचार्यको कोखबाट जन्मिएका बज्राचार्यले तानसेनको कला संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका छन् । उनको निधनले जिल्लाको सिङ्गो कला,संस्कृतिमा ठूलो क्षति पुगेको नेपाली काँग्रेसका नेता राजेन्द्र गोपाल सिंहले जानकारी दिए । उनका अनुसार बज्राचार्य स्पष्ट वक्ता,मृदुभाषी,उदाहरणीय र सामाजिक व्यक्तित्वका धनी रहेका थिए ।

पुरोहित समेत रहेका बज्राचार्य नृत्य, गीत, संगीत र तवला वादक कलाकारका रुपमा ख्याति प्राप्त व्यक्तित्व हुन् । उनले २०१३ सालमा राज्यभिषेकमा देशभरबाट गायन क्षेत्रमा प्रतिस्पर्धा गरी प्रथम भई राजा महेन्द्रबाट पुरस्कार समेत प्राप्त गर्न सफल भएका थिए । बज्राचार्य भजन संस्कृति संरक्षणका अगुवा समेत रहेका थिए । तत्कालिन समयमा महिलाहरु नाँचगान गर्नु हुदैन भन्ने मान्यता तोड्न तानसेनका जात्राहरुमा महिलाको भेषमा नृत्य गर्ने कालाकारका रुपमा समेत बज्राचार्यलाई जिल्लाबासीले चिन्ने गर्छन् ।

नवजनचेतना दैनिकका नियमित स्तम्भकार समेत रहेका बज्राचार्य तानसेनको कला संस्कृतिको संरक्षण र विकास प्रति निकै चिन्तित बन्दै खरो रुपमा लेख रचनाहरु प्रकाशन गर्दै आएको पाइन्छ । बज्राचार्य बौद्धमार्गी भएर पनि अन्य धर्म र संस्कार प्रति तन, मन र धनले त्यत्तिकै समभाव राख्ने गर्दथे । लोपउन्मुख अवस्थामा रहेको तानसेनको भजन संरक्षणको नेतृत्व गर्दै आएका उनले हरेक हप्ताको शनिबार भगवती मन्दिर प्राङगढमा भजनकृतन सञ्चालन गर्दै आएका थिए । ज्ञानमाला संघ, आनन्दबिहारका पूर्व उपाध्यक्ष, धर्मचक्र महाबिहारको चुडाकर्म व्रतबन्ध संघका दोस्रो पुजारी समेत रहेका बज्राचार्यका दुई छोरा रहेका छन् । स्वर्गिय ब्रम्हशेखरको आज नै राम्दीघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update