Shittalpati
माथागढी गाउँ सरकारले बनाउने भयो आइसोलेशन अस्पताल

पाल्पा । जिल्लाको माथागढी गाउँ सरकारले कोभिड १९ को आशंका गरिएका र लक्षण देखिएका बिरामीको उपचारका लागि छुट्टै अस्थायी आइसोलेशन अस्पताल निर्माण गर्ने भएको छ । संघीय सरकारको १० लाख सहयोगमा गाउँपालिकाले झडेवाको देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण गर्ने भएको हो । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिदै गएपछि कार्यपालिकाको बैठकले उपचार तथा रोकथामका लागि आइसोलेशन निर्माण गर्ने निर्णय गरेको हो ।

आइसोलेशन कक्षसँगै २५ वेडको क्वारेन्टाईन समेत निर्माण गर्ने तयारी अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘सरकारले प्रत्येक स्थानीय तहमा ५ बेडको अस्पताल बनाउन निर्देशन दिएको र कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा राख्ने स्थान नभएकाले समुदायस्तरमा फैलन नदिन आइसोलेशन अस्पताल बनाउन लागिएको हो ।’

गाउँपालिकाले किसान माविको पुरानो भवनमा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । यसअघि गाउँपालिकाले कोराना संक्रमितलाई तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राख्दै आएको थियो । गाउँपालिकामै आइसोलेसन निर्माण भएपछि कोरोना संक्रमितलाई महंगो शुल्क तिरेर अन्यन्त्र अस्पतालमा राख्नु नपर्ने गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताईन् ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका संघीय सरकारले अस्पताल नभएका पाल्पाको माथागढी गाउँपालिका सहित ६ सय ४९ स्थानीय तहमा स्वास्थ्यकर्मी सहितको अस्पताल बनाउन निर्देशन दिएसँगै अधिकांस स्थानीय तहले आइसोलेशन अस्पतालहरु निर्माण गर्न थालेका हुन् । कोभिड–१९ संक्रमणका बिरामी राख्न शैयाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन स्वास्थ्य मन्त्रालयले सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच शैयाका दरले ती स्थानीय तहमा तीन हजार २ सय ४५ शैयाका अस्पताल बन्नेछन् । अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तह आफैले गर्ने छन् । ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुने छन् । स्वास्थ्य मन्त्रालयले प्रति शैया दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update