Shittalpati
निस्दीमा नदी दोहन :स्थानीय भन्छन् ‘नियम विपरीत उत्खननले खेती योग्य जमिन पुरिने डर भो’

विष्णु पाण्डेय
पाल्पा,जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् । निस्दी १ कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएपछि कालिगण्डकी आसपासका खेती योग्य जमिन पुरिने भन्दै स्थानीय आक्रोसित बनेका छन् । मंगलबार नवजनचेतना दैनिक र शितलपाटी डटकममा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । यस विषयमा थप फलोअफका लागि एनजेडिको टिम नदी दोहन क्षेत्रमा पुगेको हो । उक्त क्षेत्रका स्थानीयले एनजेडी टिमसँगको कुराकानीमा अवैध रुपमा उत्खनन् भएको नदी दोहनले आफुहरुको खेतीयोग्य जमिन पुरिने खतरामा रहेको बताए ।
नियम विपरीत गिट्टी, बालुवा र ढुंगा निकालेपछि नदी काटानको समस्या उत्पन्न हुने देखिएको स्थानीय कुलबहादुर रानाले बताए । उनले भने ‘ठेकेदारले नदीमै स्काभेटर लगेर निकालेपछि पानी पनि दुई धारमा बग्न थालेको छ । गण्डकी किनारका खेती योग्य जमिन समेत पुरिने त्रास बढेको छ ।’ पहिले–पहिले बेल्चाले मात्र गिटी बालुवा निकासी गरिएपनि यसपालि भने स्काभेटर नै प्रयोग गरेर नियमविपरीत उत्खनन भैरहेको रानाले गुनासो गरे । सम्झौता विपरीत अहिले ३०/३५ हजार घनमिटरको थुप्रो देखियो ,जसबाट नदि पनि धैरे गहिरो भइसकेको उनको भनाई रहेको छ ।

अर्का स्थानीय नुनबहादुर रानाले गिटी बालुवा निकालेपछि नदिले अत्याधिक खोलेको बताए । गाउँपालिकाका जिम्मेवार व्यक्तिहरु ठेकेदारसँग मिलेर गरिएको यो अनियमितताको जति सको छिटो छानवीन हुनुपर्ने स्थानीय अगुवा तथा समाजसेवी शालिकराम पाण्डेले बताए । गाउँपालिका १ की महिला सदस्य धनिमाया रानाले आफुहरुले गाउँपालिकालाई नदिको अत्याधिक दोहन भैरहेको बताए पनि पालिकाले वेवास्ता गरेको बताईन् ।
निस्दी गाउँपालिकाका प्रवक्ता तथा गाउँकार्यपालिका सदस्य मेखबहादुर सुनारीले पनि ठेक्का सम्झौता भन्दा धेरै नदी जन्य सामग्री निकालेको स्वीकार गरे । उनले सो सामाग्री जफद गर्ने विषयमा कार्यपालिकाको निर्णय छिट्टै आउँने बताए । ७ लाख ३० हजारमा स्थानीय सरकार र ठेगदार सिताराम देवकोटासँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार १० हजार घनमिटर मात्र गिटी बालुवा निकाल्न मिल्ने बताइए पनि सो भन्दा बढी निकासी भएको खुल्न आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र ठेकेदार समेतको मिलेमतोमा नदी जन्यपदार्थ दोहन गरेको पाईएको हो । नियमविपरीत नदी दोहन भएको विषयमा गुनासो लिएर जाँदा गाउँपालिकाका अध्यक्ष समेतले वास्तै नगरेको वडा १ का वडाअध्यक्ष पूर्णबहादुर खाँणले गुनासो गरे । उनले भने ‘मैले पटक–पटक गुनासो गर्दा समेत अध्यक्षले गिट्टी, बालुवा निकाल्न रोक्नु भएन् ।’ उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई पनि पटक–पटक अनुरोध गर्दा रोकिनुको साटो ठेकेदारले झन् कालीगण्डकीमै स्काभेटर चलाएर दोहन गर्न नछोड्नुले उनीहरुको पनि संलग्नता देखिएको वडाअध्यक्ष खाँणको भनाई छ । गाउँपालिकाले वडाहरुसँग समन्वय नगरिकन यो काम भइरहेको उनले बताए । नवलपरासी, तनहुँ र पाल्पाको सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदीबाट सम्झौता भन्दा दश गुण नदीजन्य पदार्थ निकासी गरेर वातावरणीय विनासका साथै स्थानीय सरकारलाई आम्दानी हुने झण्डै पँचास लाख बरावरको आर्थिक चलखेल भएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update