Shittalpati
पाल्पामा तीतेपातीबाट तेल उत्पादन

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिव १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढंगले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए । उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग गरी तीतेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयोग पाएमा काम छिटो छरितो र प्रभावकारी हुने हँुदा सरकारले यसको व्यवस्थापन गर्नुपर्ने बताए । करिव चार रोपनी जग्गामा १५ लाखको सानो मेशिन जडान गरिएको छ । उनले यसबाट काम गर्न समस्या रहेकाले ठूलो मेशिन स्थापना गरेर पाल्पामा पाइने अदुवा, बेसार तथा अन्य जडीबुटीसमेत प्रशोधन गर्न सकिने सुनाए । सहकारीले गाउँटोलमा पाइने तीतेपातीलाई प्रतिकिलो आठमा खरिद गर्दै आएको छ । पाखो जग्गामा रहेको तीतेपातीबाट स्थानीयस्तरमा समेत स्वरोजगार सिर्जना हुने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पाँच क्विन्टल तीतेपाती एक पटकमा पेल्दा एक लिटर तेल निस्कन्छ ।

एक लिटर तेललाई १० हजारसम्ममा बिक्री गर्न सकिन्छ । पाल्पामा पनि बेसार, अदुवा, तेजपातलगायतबाट समेत मनग्य आम्दानी लिन सकिने सहकारी संस्थाले जनाएको छ । गाउँघरमा प्रशस्तै औषधिजन्य जडीबुटी पाइए पनि यसको प्रशोधन सुविधा नहुँदा र महत्व नचिन्दा ओझेल परेकोमा अब सहकारीले प्रशोधन यन्त्र उपलब्ध भएमा अन्य जडीबुटीलाई पनि प्रशोधित गर्ने र विदेशमा समेत निर्यात गरेर राम्रो आर्थिक उपार्जन गर्ने योजना बनाएको छ । नेपालमै उदाहरणीय कार्य गरेको सहकारीले बाँदर, बँदेल, दुम्सीलगायत जंगली जनावरले खेती खाइदिएर हैरान परेका पाल्पाली कृषकमा जंगल, खेतबारीमा समेत राम्रोसँगै फैलिनसक्ने तितेपातीबाटै पनि राम्रो आम्दानी गर्न सक्ने आशा पलाएको छ । सहकारीका सदस्य बुद्धिराज गौतमले फ्याँकिएका बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण तीतेपातीको तेल निकाल्ने कार्यले सबैमा उत्साह थपेको बताए । संस्थाले अहिले सात जनालाई रोजगारीसमेत दिएको छ । वि.सं २०५६ मा स्थापना गरिएको संस्थामा १ सय ६५ सेयर सदस्य छन् । –रासस

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update