Shittalpati
सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण

गुल्मी । जिल्लामा सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले सुशासन नभएको भन्दै सुशासन प्रवद्र्धनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सुशासन प्रवद्र्धनमा सरकारवालाको भूमिका’ विषयक कार्यक्रममा सहभागिहरु नागरिक समाज, मानवअधिकरकर्मीहरुले जनताको अपेक्षाअनुरुप जनप्रतिनिधीले काम नगरी सुशासनको प्रत्याभूति दिलाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले योजना र बजेट निर्माणमा जनसहभागिता नभएको बताए । उनहिरुले सोही अवसरमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीलाई ७ बुँदे ध्यानाकषर्ण पत्र बुझाएका छन् । एकीकृत ग्रामीण विकास समाज पारस्परिक जवाफदेहिता परियोजनाले सदरमुकाम तम्घासका विभिन्न सरोकारवालासँग कार्यक्रम राखेको थियो ।

कार्यक्रममा पदमप्रसाद पाण्डे, विनोद पाण्डेय, दुर्गा पाण्डे, ओम कार्की, नरेश भण्डारी, टोपलाल अर्याल लगायतले कामै नभएको प्रति भन्दा पनि यसलाई राम्रो बनाउने तर्फ सबैले खबदारी गर्नुपर्नेमा जोड दिएका थिए । ध्यानाकर्षण पत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८(५), बमोजिम हरेक स्थानीय तहले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम सञ्चालन गरी वित्तिय जवाफदेहितालाई प्रभावकारी बनाउने व्यवस्था छ । सोही अनुरुप स्थानीय तहहरुलाई नियमित रुपमा सामाजिक जवाफदेहिताका औजारहरुको कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुहुन आग्रह गरिएको छ ।

कोभिड १९ को सन्दर्भमा स्थानीय तहहरुले गरेको क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, लकडाउनको पालना र कार्यान्वयन लगाएतका कामहरु समग्रमा प्रभावकारी रहेता पनि उक्त शिर्षकमा हरेक स्थानीय तहहरुबाट के कति रकम खर्च भएको छ, उक्त खर्चको विवरण सार्वजनिक नभएकाले उक्त विवरण सार्वजनिक गरी आम नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्ने व्यवस्था समेत मिलाउन स्थानीय सरकारलाई कार्यक्रमका सहभागिहरुले आग्रह गरेका छन् । स्थानीय तहहरुले चालु आर्थिकको बजेटको पूर्ण विवरण आफ्नो वेभसाइटमा अपडेट गर्नुपर्ने र वडातहका आम नागरिकमा समेत कुन–कुन शिर्षकमा के कति बजेट विनियोजन भयो भन्ने जानकारी दिने व्यवस्था मिलाउनुपर्ने, विकास निर्माणका कामहरुमा हुने अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update