Shittalpati
पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध

बिष्णु पाण्डेय
पाल्पा । वर्षाका कारण स्याङ्जाको कालिगण्डकी गाउँपालिका भित्रका सडक अवरुद्ध बनेका छन् । लगातार परेको बर्षाका कारण गाउँपालिका १ को ठाटिभञ्ज्याङमा पहिरो जादा मिर्मी कारीकोट सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डमा पर्ने खहरेखोलामा आएको बाढीले मोटरबाटोमा ठूलो खाडल परेपछि अहिले मिर्मी कोटाकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।

अवरुद्ध सडक मर्मत गरी खुलाउने प्रयास गरिए पनि निरन्तरको बर्षाले गर्दा बाटो पुनःअवरुद्ध भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अवरुद्ध सडकको पहिरो पन्छाउदा बाटो तल रहेका घरहरु जोखिममा पर्ने भएकाले केही दिनपछि मौसममा सुधार आउनासाथ बाटो खुलाउन पहल गर्ने थापाले बताए । अहिले कुनै पनि परिवार विस्थापित भईनसकेको र विस्थापित हुने अवस्था आए पालिकाले सहयोग गर्ने उनले बताए । यस्तै अहिले पालिकाको ओईघादेखि रिडी सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । बर्षाका कारण धेरै स्थानमा मोटरबाटो अवरुद्ध भएता पनि ठाटिभञ्ज्याङ घुरडाँडा लसर्घा रुद्रवेणीको बाटो भने सहजै यात्रा गर्न सकिने स्थानीय खड्क झेडी मगरले बताए । बर्षाको समयमा जथाभावी सडक विस्तार गर्दा पहिरो जाने समस्या भएको उनले बताए । यस्तै पालिकाको लसर्घावेसी, खहरे,रिप्दी लगाएतका ठाउँहरु पनि प्रभावित भएका छन् । पालिकाकै खहरे पनि अहिले पहिरोको उच्च जोखिममा परेको स्थानीय जेके पाण्डेयले जानकारी दिए ।

पालिकाको मसार नजिकैबाट झरेको पहिरोले लसर्घावासिलाई पनि त्रासित बनाएको छ । यता कारीकोट रानीमहल जोड्ने सडक पनि अवरुद्ध छ । खोर्दी र प्युँघा बिचमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध छ भने सटुवा तल रानीमहल पुल नजिक पनि ठूलो पहिरो खसेको छ । वडा नं २ मा पर्ने लसर्घाका १८ घर बाढी पहिरोको उच्च जोखिममा रहेको आदर्श माविका प्र्रअ भिम थापाले जानकारी दिए । लसर्घाका घरहरु, शौचालय लगाएतका ठाँउहरुमा बाढी पस्दा स्थानीय बासिन्दा प्रभावित भएका छन् । बाढीले केही घरको आँगन र खाने पानीको ट्याङकी समेत पुरिएको छ । मसार नजिकैबाट पानीको मुल फुटेको र सोही ठाउँबाट गएको पहिरोले लसर्घावेशी पहिरोको उच्च जोखिममा परेको प्रअ थापाले बताए । उता वडा १ को रिब्दी पनि पहिरोको जोखिममा परेको छ । वडा १ मा रहेको १ मात्र माध्यमिक स्तरको विद्यालयको माथिल्लो भवन पनि पहिरोको जोखिममा रहेको विद्यालयका प्रअ केशर क्षेत्रीले बताए । विद्यालयको भवन नजिकै पुनःपहिरो जाँदा भवन जोखिममा परेको हो ।

 

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update