Shittalpati
रामपुरमा डिजिटल परिचय पत्र वितरण

पाल्पा, जिल्लाको रामपुरमा डिजिटल प्रविधिमार्फत परिचय पत्र वितरण गर्न थालिएको छ । रामपुर नगरपालिकाले जिल्ला मै पहिलो पटक डिजिटल प्रविधिको प्रयोग गरी परिचयपत्र वितरण थालेको हो । नगरपालिकाले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि डिजिटल परिचय पत्र वितरण गरेको छ । सेवाग्राहीहरुलाई सहज र छिटो सेवा प्रवाह गर्ने गरी शुक्रबारबाट परिचयपत्र वितरण गर्न थालिएको नगरपालिकाका प्रेस सल्लाहाकार दानुु हिस्कीले बताए । उनका अनुसार यस अघिको परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिदै आइएकोमा अहिले डिजिटल प्रविधिमार्फत सेवा दिन थालिएपछि सेवाग्राही उत्साहित भएका छन् ।

नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मेसिन राखेर नगरपालिकाबाटै परिचयपत्र दिन थालेको हो । यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने नगरपालिकाले जनाएको छ । हातले बनाएका परिचयपत्रहरु पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेको थियो । यस्तो समस्या ल्याएर धेरै सेवाग्रहीहरुले गुनासो गरेपछि डिजिटल परिचयपत्र नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर प्रमुख रमण बहादुर थापाले बताए । परिचयपत्र भिज्ने र ज्यातिने समस्या नहुँने, टिकाउ हुने र नागरिकलाई प्रयोग गर्न पनि सहज हुने भएकाले डिजिटल परिचयपत्रको अवधारणा ल्याईएको नगर प्रमुख थापाको भनाई छ । अनलाईन प्रविष्टिकरण गरिने भएकाले डिजिटल परिचय पत्र बारकोटमार्फत हेर्न सकिने र हराएमा पनि सजिलै प्रदान गर्न सकिने भएकाले धेरै सहज हुने उनले बताए । रामपुर नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्र प्रसाद श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुका लागि वर्ग अनुसारको रातो, निलो, पहेँले र सेतो परिचयपत्र र जेष्ठ नागरिकहरुका लागि पूर्ण विवरण सहितको डिजिटल परिचय पत्रको व्यवस्था गरिएको बताए । हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै डिजिटल परिचयपत्र लिन सकिने व्यवस्था गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुजा परियारले जानकारी दिइन् । सेवा प्रारम्भको पहिलो दिन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले रामपुर नगरपालिका वडा नं. ३ का ७४ वर्षिय टोप बहादुर सिं ठकुरीलाई परिचय पत्र प्रदान गरी डिजिटल परिचय पत्र वितरण गरेका थिए । डिजिटल परिचय पत्र लिने आफु पहिलो सेवाग्राही भएकोमा खुशी लागेको जेष्ठ नागरिक टोप बहादुर सिं ठकुरीले बताए । सम्भवत पाल्पा मै पहिलो पटक रामपुर नगरपालिकाले डिजिटल परिचय पत्र वितरण शुरु गरेको सफ्टवयर अफ नेपाल प्रालिका ईन्जिनियर गंगाराम रेग्मीको भनाई छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update