Shittalpati
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम

पाल्पा, तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास बारे तालिम दिइएको छ । द एसिया फाउण्डेसनको सहयोगमा अपाङ्ग महासंघ नेपालले तालिम दिएको हो । तालिमको नेपाल नेत्रहिन संघका केन्द्रीय महासचिव शिशिर खनालले सहजीकरण गरेका थिए ।

उनले अपाङ्गताको परिभाषा वर्गिकरण, प्रकार र परिचयपत्र, अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोध, परिमार्जित अवधारणा, अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी शिक्षाको अवधारण, दीगो विकासका लक्ष्य र अपाङ्गताका सवालमा स्थानीय तहको भूमिकाबारे जानकारी दिएका थिए । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहमा बन्ने नीति नियम तर्जुमा गर्दा अपाङ्गता भएको व्यक्तिको अधिकारलाई प्राथमिकता दिने बताए । नगर प्रमुख श्रेष्ठले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाउने र कार्यालयको सेवा सुविधालाई अपाङ्गतामैत्री बनाउँदै लैजाने प्रतवद्धता गरे ।

यस्तै उपप्रमुख प्रतिक्षा सिंजालीले अपाङ्गता भएका व्यक्तिलाई मानवमैत्री बनाउने गरी नगर सरकारले काम गर्ने बताइन् । तानसेन नगरपालिकाले ब्रेल लिपिमा बजेट तथा कार्यक्रम पुस्तिका निकाले छ । अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाको बजेट र कार्यक्रममा पहुँच पुर्‍याउन यसरी ब्रेल लिपिमा पुस्तिका छाप्ने काम गरेको उनले बताइन् । वडा ७ का वडाध्यक्ष तथा कार्यपालिका अन्तर्गत सामाजिक विकास समितिका संयोजक प्रदीप खनालले नगर भित्रका अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन गरेर उनीहरूको अवस्था आधारमा कार्यक्रम सञ्चालन गर्ने बताए । सृजनशील अपाङ्ग स्वावलम्बन केन्द्र तानसेका सन्दीप भट्टराईले अझैपनि स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको बताए । तानसेन नगरपालिकाले केही उदाहरणीय काम गर्न थालेको छ । सबै स्थानीय तहले अपाङ्गताको क्षेत्रमा काम गर्ने नीति निर्देशिका निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

द एसिया फाउण्डेसका लुम्बिनी प्रदेश संयोजक चुरामणी पोखरेलले आफूहरूले तानसेन नगरपालिकासँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्दै आएको बताए । द एसिया फाउण्डेसको सहयोगमा तानसेन नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिको हितमा विगत केही वर्षदेखि रचनात्मक काम गर्दै आएको छ । दुइ दिने तालिममा सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रले समन्वय गरेको थियो । तालिममा अपाङ्गता समन्वय समितिका सदस्यको पनि सहभागिता रहेको थियो । सोही अवसरमा अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने गरी तानसेन नगरपालिकाले भावी योजना तय गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको विश्लेषणात्मक अभिलेखिकरण गर्ने, नयाँ भौतिक संरचना बनाउँदा अपाङ्गमैत्री बनाउने, नगरपालिकामा कर्मचारी राख्दा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने, प्रत्येक आर्थिक वर्षका बजेट पुस्तिकालाई ब्रेल लिपि र ठूला छापामा प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिने योजना तय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update