Shittalpati
निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।

उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । पालिकाले बुधबारदेखि पालिकाभित्रका ७ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न थालिएको पालिएकाले जनाएको छ । शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखिकरण, जेष्ठ नागरिक सम्मान, गरिव घरपरिवार परिचय पत्र वितरण, अपाङ्गता परिचय पत्र वितरण, ब्यवसाय दर्ता, औषधी वितरण, स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरिरहेको छ । पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि नागरिकहरु पनि खुसी भएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा १ बाकामलाङका पुर्णसिंह सारुले बताए । शारीरिक रुपमा अपा· रहेका उनलाई घरमै पुगेर पालिकाका कर्मचारीको टोलीले अपा·ता परिचय पत्र दिएपछि उत्साहित भए । उनले परिचय पत्र लिनका लागि समेत पालिका जान नसकेको अवस्थामा स्थानीय सरकार आफै आएर दिएकोमा खुसी व्यक्त गरे । आर्थिक अवस्था कमजोर भएकी तर उमेरले ७० काटिसकेकी सीता सारु पनि गरिब घर परिचय पत्र बनाउन पालिका जान सकेकी थिइनन् । तर यसपालिका पालिकाबाटै आएर परिचय पत्र दिएपछि भने उनी पनि खुसी छन् । ‘पालिकाको केन्द्रमा जान सकेकी थिइन्’ उनले भनिन्– ‘गाउँमा नै सेवा पाउँदा सजिलो भएको छ ।’

उनी जस्ता धेरैले गाउँबाटै सेवा पाएपछि उत्साहित भएका छन् । गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर अभियान सञ्चालन गरी सेवा दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्व दयालले बताए । उनले भने ‘गाउँपालिकामा आएर सेवा लिँदा सेवाग्राहीको समय र पैसा धेरै खर्च हुन्छ, त्यसलाई केही हदसम्म कम गर्न शिविर चलाएका हौं ।’ गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारी ७ वटै वडामा पुग्ने र गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने विभिन्न सेवा शिविरबाटै उपलब्ध गराईरहेको उनले बताए । वडा १ बाट सुरु भएको अभियान बुधबार वडा १ बाकामलाङ, विहीबार वडा २ सहलकोटमा भएको छ । क्रमशः सबै वडामा पुग्ने पालिकाका प्रशासकिय सहायक नारायण तिमिल्सीनाले बताए । उनका अनुसार शिविरको दोस्रो दिनसम्म ५० जनाले गरिब परिचय पत्र पाएका छन् । जसमा ३२ जना महिला र २८ जना पुुरुष रहेका छन् । यस्तै अपाङ्गता परिचय पत्र १७ जनाले पाएका छन् । जसमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । शिविरमा ६ जनाले व्यवसायी दर्ता गराएका छन् ।

यस्तै आयुर्वेद सेवा ३४ जनाले लिएका छन् । अहिलेसम्म ३३ वटा योजना सम्झौता भइसकेको तिमिल्सीनाले बताए । गाडीको यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउँदा नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस् भनेर शिविर सञ्चालन गरिएको उनको भनाई छ । ‘गाउँपालिकाको केन्द्र नजिकै रहेका सेवाग्राहीलाई समस्या नहोला । सेवा लिनकै लागि दुुर्गमबाट आउनुपर्ने अवस्थामा नागरिकलाई सास्ती हुन्छ । गाडीमा आउँदा खर्च हुने, उहाँहरुको पूरै दिन जाने अवस्था छ’, उनले भने । ‘सबै प्रकारका सेवा दिने गरी कर्मचारी र जनप्रतिनिधिहरु शिविरमा भेला भएपछि एकै दिनमा सयौँ जनालाई सेवा दिन सकिन्छ । हाम्रो काम नै जनताको अवस्थामा सकेसम्म सजिलो पार्ने हो, उहाँहरुलाई सघाउने हो ।’ शिविरमा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुुर्व दयाल सहित विभिन्न शाखाका प्रमुखहरु सेवा प्रवाहमा खटिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update