Shittalpati
रामपुर नगरपालिकाको नगर सभा सकियो

पाल्पा, रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन सकिएको छ । गत पौष २३ गतेबाट सुरु भएको अधिवेशन सकिएको हो । बैठकले चालु आर्थिक वर्षमा २०७९/०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको संशोधन गरी रकमान्तर तथा शिर्षकान्तरण गरेको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको नगर सभामा रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमले वडा तथा विषयगत शाखाबाट संशोधनका लागि सिफारिसमा रकमान्तर तथा शिर्षकान्तर भएका योजनाहरु प्रस्तुत गरेकी थिइन् । बैठकले रकमान्तर तथा शिर्षकान्तर भएका योजनाहरु सर्वसहमतिमा पारित गरेको छ । बैठकमा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले विकास निर्माणका योजनाहरु संगै आर्थिक, सामाजिक रुपान्तरणमा सोच्ने समय आएको बताए । उनले जनप्रतिनिधिहरुले आफैले आफैलाई समीक्षा गर्ने समय आएको बताए । रामपुर नगरपालिका वडा ३ का वडा अध्यक्ष दामोदर पाठकले नगर विकासको लागि सबै मिलेर लाग्नुको विकल्प नभएको बताए । न्यू होटल श्रीनगरको सभाहलमा भएको सभाको दोस्रो बैठकमा रामपुर नगरपालिकाका नगरसभा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, नगर प्रवक्ता कपिलबहादुर खाँण, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update