Shittalpati
तानसेनको मखनटोलमा खाना महोत्सव हुँदै

रामचन्द्र रायमाझी

पाल्पा, राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि तानसेन नगरपालिका–४ मखनटोल टोल विकास संस्थाले ‘मखनटोल सडक खाना महोत्सव–२०७९’ गर्ने भएको छ । टोल विकास संस्थाले यही माघ २० गते मखनटोलमा खाना महोत्सव गर्न लागेको हो ।

संस्थाले मंगलबार तानसेनमा पत्रकार सम्मेलन गरी पाँचौ सडक खाना महोत्सव गर्न लागेको जानकारी गराएको छ । स्थानीय खानाको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाह्य पर्यटकलाई चखाउनुको साथै तानसेनमा पर्यटकहरुलाई भित्र्याउने, महिलाहरुमा रहेको अन्तरनिहित नेतृत्व क्षमतालाई उजागर गर्ने, अन्य टोलविकास संस्थाहरुसँगको सम्बन्धलाई सुमधुर बनाउने, महिला उद्यमीहरुबाट उत्पादित कृषि जन्यवस्तुहरुको प्रदर्शनी तथा विक्रीलाई प्रोत्साहन गर्ने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गरिएको संस्थाकी अध्यक्ष प्रर्मिला कार्कीले बताइन् । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचार–प्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास उनले लिइन् । महोत्सवमा पाल्पाका स्थानीय तहमा उत्पादित कृषि जन्यवस्तु, विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्री वितरण एवं सांस्कृतिक कार्यक्रम रहने महोत्सव संयोजक प्रविता शाक्यले बताईन् । महोत्सवमा नेवारी, मगरी, क्षेत्री ब्रह्यमण, मुस्लिम लगायत जातिजातीका खानाका परिकार, सुन्तलाका अर्गानीक जुससहित परम्परागत खाजा तथा खानाको परिकारहरूको ७० वटा स्टल रहने छन् । दर्शकले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेषभुषा र नाँचगानसहित मनोरञ्जन समेत लिन सक्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष हेमन्तराज शाक्यले तानसेनको पर्यटन प्रवद्र्धनका लागि वडाबाट समेत बजेट विनियोजन गरिएको बताए । उनले वडाका दुई टोलविकास संस्थाले आयोजना गर्ने सडक खाना महोत्सवका लागि पर्यटन प्रवद्र्धन कार्यक्रममार्फत एक/एक लाख विनियोजन गरेको जानकारी दिए । यस वर्ष विशाल बजार टोल विकास संस्थाले महोत्सव नगर्ने भएपछि मखन टोल विकास संस्थालाई दुई लाख दिइने समेत वडा अध्यक्ष शाक्यले बताए । महोत्सवले पर्यटन विकासका लागि महत्वपूर्ण टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले स्थानीय फरक–फरक स्वाद दिने परिकारलाई महोत्सवमा प्राथमिकता दिन सकेमा महोत्सवले सार्थकता प्राप्त गर्न सक्ने बताए । उनले महोत्सवबाट हुने आम्दानीबाट टोलको सरसफाईमा ध्यान दिन टोल विकास संस्थालाई समेत आग्रह गरे । २०६९ साल देखि शुरु गरिएको सडक खाना महोत्सव ०७३ सालमा पनि भव्यरुपमा सम्पन्न गरिएको थियो । तर, पछिका वर्षहरुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन । कोरोनाको प्रभाव विस्तारै घट्दै गएपछि पुनः अहिले खाना महोत्सव हुन लागेको संस्थाकी सदस्य नविता थैवले बताईन् । खाना महोत्सव विहान १२ः३० बजेदेखि साँझा १० बजेसम्म रहने जनाइएको छ । शित्तलपाटीदेखि हुलाकचोकसम्म स्टल रहने छन् । पत्रकार सम्मेलन कार्यक्रम संस्थाकी अध्यक्ष प्रमिला कार्कीको अध्यक्षता, सचिव ज्ञानु कार्कीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update