Shittalpati
पाल्पामा सहज बनाइँदै राहदानी सेवा, विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने

कृष्ण पोखरेल
पाल्पा, विद्युतीय राहदानीका लागि सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ११ घण्टा सेवा शुरु गरेको छ । सेवाग्राहीको भिड र मागको आधारमा राहदानीका लागि कार्यालयले विहान ८ बजे देखि १० बजे सम्म, १० बजेदेखि ४ बजे सम्म र ४ बजेदेखि बेलुका ७ बजेसम्म गरी ३ सिफ्ट बनाई कामको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

जिल्ला प्रशासन कार्यालयले एक बर्ष अघि नै केही समय सम्म ३ सिफ्ट कार्यालय सेवा सञ्चालन गरे पनि सेवाग्रही घटेपछि सेवा स्थगन गरेको थियो । अहिले पुनः सेवाग्रहीको सेवा मागको आधारमा सञ्चालन गरेको प्रजिअ पन्तले बताए । विद्युतीय राहदानीको लागि एउटा मात्र मेसिन भएको सेवाग्रहीको चाप बढेकाले ३ सिफ्ट कार्यालय सञ्चालन भएपछि ७० जना सम्मको दैनिक काम गरिने प्रजिअ पन्तले जानकारी दिए ।

कार्यालयले अन्य सेवा प्रवाहको लागि समय तालिका निर्धारण गरी काम गर्दै आएको जनाएको छ । कार्यालयले विद्युतिय राहदानी लाईभ इन्रोलमेन्टको लागि सर्वर चलेको अवस्थामा १० मिनेट, तयार भएको राहदानी वितरण २० मिनेट, राष्ट्रिय परिचयपत्र विवरण दर्ता १ घण्टा भित्र, व्यक्ति प्रमाणित ३० मिनेट, संस्था नविकरण ३० मिनेट, संस्था दर्ता एक दिन, पेन्सन सम्बन्धित कागजात १ घण्टा, दलित जनजाती प्रमाणित ३० मिनेट, नावालक परिचयपत्र ३० मिनेट, नेपाली नागरिताको प्रमाणपत्र वा प्रतिलिपि १ घण्टा भित्र सेवा प्रवाह गर्ने तालिका निर्माण गरी काम भईरहेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

सेवा सम्बन्धी कुनै दुविधा वा अस्पष्ट भएमा फाँटवाला प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारीको सहयोग लिन प्रजिअ पन्तले सर्वसाधारणहरुलाई अनुरोध गरेका छन् । राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री पुुष्पकमल प्रचण्डले सचिवहरूसँगको बैठकमा यस अघि निर्देशन दिएका थिए । सोही निर्देशनानुसार अहिले देशैभर राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन जिल्ला प्रशासनहरुले काम थालेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update