Shittalpati
विकास निर्माण र सेवा प्रभावकारी बनाउने सर्वदलीय निर्णय

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको विकास निर्माण र सरकारी सेवालाई प्रभावकारी बनाइने सर्वदलीय निर्णय भएको छ  । प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/अध्यक्ष, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको बैंठकले जिल्लाको सेवा तथा विकास निर्माणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा भएको बैठकमा सर्वदलीय, सर्वपक्षीय बैठकले जिल्लाको सेवा तथा विकास निर्माणलाई चुस्त दुस्त बनाउने गरी ११ बुँदे निर्णय गरेको छ । बैठकले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने, जीवनभर औषधी सेवन गर्नै दीर्घरोगीहरुले पटक–पटक रिफरको व्यवस्था हटाउन संघीय जनप्रतिनिधीहरुले बिमा बोर्डमा पहल गर्ने, जिल्लामा राहादानी सेवालाई छिटो छरितो बनाउन थप उपकरण माग गर्ने र ईलाका प्रशासन कार्यालय रामपुरबाट पनि राहदानी सेवा सञ्चालनको लागि पहल गर्ने, स्थानीय तहबाट छिटो भन्दा छिटो जग्गाको वर्गिकरण गरी विवरण मालपोतमा पठाउने निर्णय गरेको छ । बैठकले विपत व्यवस्थापनमा राहत तथा क्षतिपूर्ति वापत वितरण गरिएको १ करोड ६९ लाख ९२ हजार ५ सय रुपैयाँ खर्चको अनुमोदन गरेको छ । स्थानीय सरकारले गरिब, विपन्न वर्गलाई न्यानो कपडा वितरण गर्ने, आगलागीका घटना नियन्त्रण गर्न अहिलेदेखि नै पूर्व तयारी अपनाउने, निस्दी– ३ क्यामरुङको बस्ती व्वस्थापन गर्न भूगर्वविद् टोली झिकाई काम अगाडि बढाउने जस्ता निर्णहरु बैठकले गरेको छ । बैंठकमा सरकारी कार्यालयका प्रमुखहरूले हालसम्म भएका सेवा प्रवाह तथा कामका बारेमा जानकारी दिएका थिए ।

अधिकांश कार्यालय प्रमुखहरूले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या भएकाले कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । विकास निर्माणका आयोजना योजनाबद्ध नभई पहुँचको भरमा आउने गरेकाले पनि कार्यान्वयनमा समस्या भएको कार्यालय प्रमुखहरुले बताएका थिए । विकासे काममा सरकारी कार्यालयहरू बीच नै समन्वय कमजोर हुँदा उपलब्धी प्राप्त गर्न समस्या रहेको कार्यालय प्रमुखहरूको भनाई थियो । बैठकमा सहभागी प्रतिनिधिसभाका सांसद नारायण आचार्यले सरकारको काम गर्दा परेका आवश्यक नीतिगत समस्या समाधान गर्न आफू तयार रहेको बताए । सासंद आचार्यले विकासका आयोजना कार्यान्वयनमा स्थानीय बासिन्दा र मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफू तयार रहेको बैठकमा बताए । पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले विकास निर्माणका काम समयमै सम्पन्न गर्न र गराउन जिल्लाका योजनाहरु अनुगमन सुरु गरेको बताए । जिल्लाको विकास निर्माण गुणस्तरीय गर्न र गराउन सम्बन्धित कार्यालयले ध्यान दिनुपर्ने सांसद गैरेले जोड दिए । कार्यक्रममा प्रदेशसभाका सदस्यहरू वीरबहादुर राना, तुलाराम घर्तीमगर, राजुप्रसाद श्रेष्ठ, खेमबहादुर सारु, इन्द्रा गहतराज लगायतले प्रदेश सरकारको काम प्रभावकारी रुपमा गर्न भूमिका खेल्नेमा प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नयाँ सरकार निर्माण भएको छ, जनताका अपेक्षा धेरै छन्, सबैले आ–आफ्नो ठाउँमा नीति नियम कानुन पालना गरी समयमै विकास निर्माण तथा सेवा प्रवाह गर्न कार्यालय प्रमुखहरुलाई अनुरोध गरे । कार्यक्रममा पाल्पाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाको विकास निर्माणको अवस्था, भइरहेका गतिविधीहरुको बारेमा चर्चा गरेका थिए । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतमा बैठक भएको थियो । जिल्ला प्रशासन कार्यालय पाल्पाले उत्कृष्ट कार्यालय प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाही, उत्कृष्ट कार्यालयको रुपमा घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई सम्मान गरेको छ । निर्वाचन भयरहित र निष्पक्ष वातावरण गराउन भूमिका खेल्नुहुने प्रहरी उपरीक्षक शाही र निर्वाचन कार्यालयलाई सम्मान गरिएको प्रजिअ पन्तले बताए । जिल्ला प्रशासन कार्यालय पाल्पाले कार्यसम्पादनको आधारमा हरेक महिना उत्कृष्ट कार्यालयलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update