Shittalpati
पाल्पामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकियो, उपाधि पुलिसलाई

पाल्पा, पाल्पाको रानीमहलमा जारी राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सकिएको छ । शनिबार फाइनल खेल हुँदै सकिएको हो । प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना र राष्ट्रिय भलिबल संघ काठमाडौंको सहकार्यमा शनिबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।

फाइनलमा पुलिसले लुम्बिनी प्रदेशलाई २–० सेटमा पराजित गरेको थियो । पहिलो सेटमा २१–८ र दोस्रो सेटमा २१–१७ ले लुम्बिनीलाई पछि पार्दै पुलिसले उपाधि जितेको हो । नेपाल पुलिसका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डा“गी र सरस्वती कट्टेलको समूहलाई पराजित गरेको छ । पुलिसले यसअघि क्वार्टर फाइनलमा प्रदेश १ लाई २१–१, २१–६ र सेमिफाइनलमा गण्डकीलाई २१–१९, २१–९ को सोझो सेटमा पराजित गरेको थियो । लुम्बिनीले क्वार्टर फाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान पक्का गरेको थियो । सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई २१–१७ र २१–१४ को सेटमा हराउदै फाइनल नजिक पुगेको हो । तेस्रोका लागि भएको खेलमा भने सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पछाडी पारेको थियो । सुदूरपश्चिमले गण्डकीलाई सोझो सेटमा पछि पारेको हो । पहिलो र दोस्रो सेटमा क्रमश २१–१२, २१–१७ ले गण्डकीलाई हरायो ।
उपाधि जित्ने पुलिसले १ लाख नगद, ट्रफी, मेडल र पाल्पाली करुवा प्राप्त ग¥यो भने उपविजेता लुम्बिनी प्रदेशले नगद ५० हजार, ट्रफी, मेडल र पाल्पाली करुवा पाएको छ । तेस्रो भएको सुदूरपश्चिम प्रदेशले नगद ३० हजार, नगद, ट्रफी, मेडल र पाल्पाली करुवा पाएको छ । यस्तै चौथो भएको गण्डकी प्रदेशले पनि नगद २० हजार र प्रमाणपत्रमा चित्त बुझाएको छ । खेलमा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट खेलाडी भएको अन्तर्राष्ट्रिय प्रशिक्षक गौतम प्रसाद लासिवाले जानकारी दिए । उनलाई नगद २० हजार र ट्रफी साथै पाल्पाली करुवा प्रदान गरियो छ । प्रतियोगितामा दुई विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र सात प्रदेशका खेलाडीले भाग लिएका थिए । प्रतियोगिता चैत २४ गतेदेखि सुरु भएको थियो । विजेता खेलाडहरुलाई नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्षनिरोज मास्के, प्रतियोगिताका सद्भावना दुत नायक धिरेन शाक्य, खेलाडी अस्मिता शाही लगायतले पुरस्कार प्रदान गरेका थिए । यस्तै सोही अवसरमा दुई राष्ट्रिय खेलाडीलाई समेत सम्मान गरिएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही र नेपाल पुलिस क्लबकी खेलाडी कोपिला उप्रेतीलाई सम्मान गरिएको प्रतिष्ठानका सल्लाहकार पदम न्यौपानेले बताए । प्रतिष्ठानले नगद ३० हजारसहित कदरपत्र, पाल्पाली ढाका ओढाएर सम्मान गरेको थियो ।

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि हात पार्ने नेपाल पुलिस क्लबका खेलाडीलाई पुरस्कार वितरण गरिदै । तस्वीर :माधव अर्याल

 

 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update