Shittalpati
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो

पाल्पा,  स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन भएको वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकिएको छ । बिर्घा युथ क्लब कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिता सकिएको हो ।

प्रतियोगितामा सिवाइसी सत्यवती गाउँपालिका चेहेमी गुल्मी प्रथम, लम्बेक युवा क्लब कालीगण्डकी गाउँपालिका–३ स्याङ्जा दोस्रो, बिर्घा युथ क्लब कालीगण्डकी गाउँपालिका–४ स्याङ्जा तेस्रो र सूर्यज्योती युवा सैनिक समिति खहरे सान्त्वना भएका छन् ।

पुरुषतर्फ प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै महिलातर्फ लालीगुराँस युवा क्लब कालीगण्डकी गाउँपालिका–६ इम्सील प्रथम, आयोजक बिर्घा युथ क्लब दोस्रो र जन्मभूमि जनकल्याण युवा क्लब तेस्रो भएका छन् । महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, ८ हजार र ४ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । समापन कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पुरस्कार प्रदान गरेकी थिइन् । पुरस्कार प्रदान गर्दै उपाध्यक्ष कोइरालाले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले विशेष चासो देखाएको बताईन् । गाउँपालिका शिक्षा शाखा प्रमुख भीम श्रेष्ठले खेल क्षेत्रमा थप सक्रिय बन्न खेलाडीहरुलाई आग्रह गरे । सोही अवसरमा खेलमैदानलाई जग्गा उपलब्ध गराउने अम्बिका दर्जी, मेदनिलाल पाण्डे, जोगकुमारी पाण्डे, निलकण्ठ भट्टराईलाई सम्मान समेत गरिएको थियो । क्लबका अध्यक्ष सुनिल दर्जीको सभापतित्व, सचिव बुद्धिबल परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update