Shittalpati
ओलम्पिकमा सोनियाले इरिनासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, टोकियो ओलम्पिक अन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो खेलमा रसियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । टोकियो २०२० को उद्घाटन भएको भोलिपल्टदेखि नेपाली खेलाडीको प्रतिस्पर्धा शुरु हुनेछ । जसमा जुलाई २४ अर्थात आगामी शनिबार नेपालकी सोनियाले पहिलो चरणमा रसियन खेलाडी डोल्गाभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी हुन् ।

बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार महिला ४८ केजी तौल समूहमा सोनियाले इरिनासँग खेल्ने भएकी हुन् । डोपिङ प्रकरणमा परेपछि रुसले यसपटक राष्ट्रको रुपमा सहभागी नभई रुस ओलम्पिक कमिटीको रुपमा प्रतिस्पर्धा गर्दैछ । रुसको ओलम्पिकको झण्डामुनि रहेर रुसका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा २०७६ मा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनिया वाइल्ड मार्फत छनोट हुँदै टोकियो ओलम्पिक खेल्न पुगेकी हुन् । उनको प्रशिक्षकको रुपमा सूर्यनारायण श्रेष्ठ छन् । टोकियोमा तीन दिनको क्वारेन्टिन सकेर सोनियाले प्रशिक्षण समेत शुरु गरिसकेकी छन् । यस खेलको विजेताले दोस्रो चरणमा इटलीका मिलानी र चाइनिज ताइपेईकी लिनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सोनिया ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालकी तेस्रो महिला खेलाडी र समग्रमा पाँचौ खेलाडी बन्दै छिन् । यसअघि सन् १९८८ मा सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ मा देवु थापा र २०१८ मा फुपुल्यामु खत्रीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update