Shittalpati
अफ्रिकी खेलाडी बुटवलमा

काठमाडौं,नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनी एफसीले तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै टिमले भारतको आई लिगसमेत खेलिसकेका दुईसहित तीन अफ्रिकी खेलाडीको नाम सार्वजनिक गरेको हो । घानाका ओपोकु विलियम असिएडु, नाइजेरियाका ओमुलाजा करिम र चाडका अर्माड बेअडोलाई बुटवल एफसीले एनएसएलका लागि अनुबन्ध गरेको क्लबका महाप्रवन्धक राजुकाजी शाक्यले जानकारी दिए ।

विलियम र करिम आई लिग खेलेका खेलाडी हुन् भने चाडको अर्माडले गत सिजन च्यासल युथ क्लबबाट नकआउट प्रतियोगिता खेलेका थिए । गत सिजन च्यासल क्लबको प्रशिक्षक हुँदा आफूले नै प्रशिक्षण दिएको खेलाडी भएकाले र अर्मान्डलाई अनुबन्ध गरेका शाक्यले जानकारी दिए । नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिगमा ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update