Shittalpati
बार्सिलोनाको उत्कृष्ट प्रदर्शन कायमै

काठमाडौ, स्पेनिस क्लब बार्सिलोनाले २०२१ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । सन् २०२०–२१ को सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले नयाँ वर्ष शुरु भएपछि ला लिगामा स्थिर प्रदर्शन जारी राखेको छ । क्याटलान क्लबले ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ र उपाधि होडमा पनि आफूलाई अगाडि ल्याएको छ । बार्सिलोनाले सन् २०२१ मा ला लिगामा १३ खेल खेल्दा अपराजित यात्रा कायम राख्दै १२ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । बार्सिलोनाले सम्भव भएको ३९ मध्ये ३७ अंक जोडेको छ । नयाँ वर्ष शुरु भएपछि बार्सिलोना ला लिगामा अपराजित रहेको छ । फेब्रुअरी २१ मा भएको काडिज विरुद्धको खेल मात्र बार्सिलोनाले जित्न सकेन ।

आइतबार रियल सोसिडाड विरुद्ध ६–१ को सहज जित हात पार्दै बार्सिलोनाले आफू स्पेनको उत्कृष्ट भएको प्रमाणित गरेको छ । यस्तै पछिल्ला खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० ले, अलाभेजलाई ५–० ले र हुएस्कालाई ४–१ ले पराजित गरेको थियो । दुई मड्रिड क्लब एट्लेटिको र रियलले सन् २०२१ मा बार्सिलोना भन्दा धेरै अंक गुमाएका छन् । नयाँ वर्ष लागेयता एट्लेटिकोले ९ खेल जित्दा ४ खेल बराबरी खेलेको छ भने एक खेल हारेको छ । यस्तै जिनेदिन जिदानको रियलले १२ खेल खेल्दा ८ खेल जितेर ३ खेलमा बराबरी गरेको छ भने एक खेलमा पराजित भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update