Shittalpati
‘खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध’


हाम्रा संवाददाता
पाल्पा, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध भएर लागेको बताएका छन् । रञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता समूहलाई पुरस्कार वितरण गर्दै अध्यक्ष बस्यालले यस्तो बताएका हुन् ।उनले खेलाडी राष्ट्रका गहना भएकाले गाउँपालिका खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लागेको बताए । अध्यक्ष बस्यालले भने ‘विकास र योजनामा मात्र बजेट खर्च गर्ने परिपार्टीको अन्त्य गर्दै खेलको विकासमा पनि हामी लागि परेका छौं ।’ गाउँपालिकाले सुरुवातदेखि युवा तथा खेलकूद सञ्जाल गठन गरेर नै त्यसका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको उनले बताए ।

गाउँपालिकाले स्थानीयस्तरमै दक्ष र सक्षम खेलाडी उत्पादनका लागि एक वडा एक खेल मैदान बनाउने गरी योजना अगाडि सारेको अध्यक्ष बस्यालको भनाई छ । उनले पछिल्लो समय युवाहरुको आर्कषण पनि खेलकुद मै भएकाले त्यसतर्फ स्थानीय सरकारले विशेष चासो राखेको धारणा व्यक्त गरे । खेलाडीहरु देशका गहना भएकाले त्यसको उत्पादन, व्यवस्थापन र संरक्षण गर्ने दायित्व पनि स्थानीय सरकारकै रहेको अध्यक्ष बस्यालले बताए । उनले खेलाडीहरुलाई आत्मबल बलियो बनाएर खेल क्षेत्रमा लाग्न आग्रह गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष गुनबहादुर बुढाथोकी, समाजसेवी हरिप्रसाद पाठक लगायतले राष्ट्रियस्तरमै नाम राख्ने गरी खेल क्षेत्रमा सक्रिय बन्न खेलाडीहरुलाई आग्रह गरेका छन् ।पुरुष भलिबलको उपाधि स्याङ्जालाई क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाको लम्पेकले हात पारेको छ । निरञ्जन युवा क्ल्व खानीगाउँ पाल्पाले आयोजना गरेको प्रतियोगितामा स्याङ्जा कालीगण्डकी गाउँपालिका ३ बारीचौरलाई पराजित गदै लम्पेकले उपाधि हात पारेको हो । कमेरे खेल मैदानमा भएको फाइनल खेलमा २५–१८, ३०–२८ को सोझो सेटमा बारिचौरलाई पराजित गर्दै लम्पेकले उपाधि जितेको छ । पराजित लम्पेक भने दोस्रो भएको छ । त्यस्तै स्याङ्जाको देउरालीलाई पराजित गर्दै पाल्पाको बौघागुम्वाले तेश्रो स्थान हात पारेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी तथा द्वितीय हुने टिमलाई नगद २० हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै तेश्रो हुनेलाईनगद १० हजार र प्रमाणपत्र प्रदानगरिएको छ । खेलकुदको विकाससँगै बगनासकालीको पहिचान बनाउदै लैजान खेलकुद प्रतियोगिता आयोजन गर्ने प्रयास गरेको क्लबका अध्यक्ष दोर्णबहादुर बुढाथोकीले बताए ।

 

खेल अवधिभर उत्कृष्ट खेलाडी लाङ्घाली युवा क्लव स्याङ्जाका योगेन्द्र अस्लामी, खेलाडी बेस्ट ब्लकरमा राईजिङ स्टार युवा क्लबका विमल राना, बेष्ट स्पाईकरको उपाधी स्याङ्जा लम्पेक युवा क्लबका आयुष गाहा उत्कृष्ट लिफ्टर छानिएका छन् । उत्कृष्ट हुने खेलाडीहरुलाई नगद मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । आगामी दिनमा खेलसँगै रचनात्मक कार्य गर्दै जाने योजना रहेको क्ल्वका सचिव विष्णु तिमिल्सेनाले बताए । प्रतियोगितामा पाल्पा स्याङ्जा र गुल्मीका २८ टिम सहभागी रहेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update