Shittalpati
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।

आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार कोरोनाबाट केही खेलाडी सङ्क्रमित भएपछि थप खेलाडीदाई बन्द प्रशिक्षणमा सहभागी गराइएको जानकारी दिए । बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई चार चरणमा छनोट गरी अन्तिम टोलीको टुङ्गो लगाइने प्रवक्ता राईले बताए ।

सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षण थालेको हो । विश्वकपको एशियन छनोटमा नेपालले आफ्नै भूमिमा चैत १२ गते चाइनिज ताइपेइसित, चैत १७ गते अस्ट्रेलियासित तथा जेठ २४ गते जोर्डनसित छनोट खेल खेल्ने एन्फाले जनाएको छ ।

खेलाडीलाई कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दिइरहनुभएको छ । समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन समान १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा तथा नेपाल तीन अङ्कसहित चौथो स्थानमा छ । चाइनिज ताइपेइ अङ्कविहीन अवस्थाामा रहँदै समूहको पुछारमा छ । –रासस

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update