Shittalpati
खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गछौं : नगरप्रमुख थापा

पाल्पा(रामपुर), रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारसंगै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने बताएका छन् । रामपुर ७ किसानबारीमा तेस्रो मेयर कप अन्तर्गतका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दैै थापाले नगरपालिकाले युवाहरुलाई सिर्जनशिल बनाउन खेलकुद प्रतियोगिता संगै पूर्वाधार निर्माण र सिप विकासतर्फ नगरपालिकाले ध्यान दिने बताए । थापाले यस्ता प्रतियोगिताले हारजित भन्दा पनि अनुशासन सिकाउने स्मरण गराउँदै खेलाडीहरुको स्तर वृद्धिका लागि दक्ष प्रशिक्षक ल्याएर प्रशिक्षणको व्यवस्था गर्ने बताए ।

उनले पहिलो चरणमा भलिबल, फुटबल, क्रिकेट, व्याटमिण्टन खेलका प्रशिक्षकहरुको व्यवस्था गरेर तालिम सुरु गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले खेल राष्ट्रलाई चिनाउने सशक्त माध्यमसंगै युवाहरुलाई सही मार्गमाडो र्‍याउने मुख्य आधार भएको बताईन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने र नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई लगायतले मेयर कपले स्थानीय प्रतिभाको उजागरमा महत्वपूर्ण भुमिका खेलेको बताएका थिए ।

पुरस्कार वितरण कार्यक्रमको अवसरमा वडा ७ का विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । ‘उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान’ भन्ने मूल नाराका साथ रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको आयोजनमा प्रतियोगिता भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update