Shittalpati
ईपीएल खेल्न क्रिस गेल नेपाल आउने

काठमाडौं, क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि–२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहीबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो ।

गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभीले खेलेका थिए । यसअघि नै भैरहवा ग्लाडिएटर्सले वेष्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ । यस्तै साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ । ईपीएलको सफलताले गर्दा नै क्रिस गेललाई अनुबन्ध गर्न सफल भएको पोखरा राइनोजका मालिक दीपा अग्रवालले बताइन् ।

यो सारा नेपालीको लागि खुशीको कुरा भएको उनको भनाइ छ । गेललाई कन्भिन्स गर्न ६–७ महिना लागेको ईपीएलका म्यानेजिङ डाइरेक्टर आमिर अख्तरले बताए । गेललाई हेर्न सबै नेपाल नै लालायित भएको उनको भनाइ छ । तर, गेलले कति म्याच खेल्ने भन्ने पक्का भइसकेको छैन । उनले भनेका छन्, ‘आईपीएल खेल्न जानुपर्छ त्यसका लागि कहिले जान्छु, त्यही अनुसार नेपालमा कति समय बस्ने फिक्स्ड हुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update